दोलखा । तामाकोशी गाउँपालिका वडा नम्बर–६ मा एक योजनाको उपभोक्ता समिति वडा अध्यक्षकै रोहबरमा रातारात परिवर्तन भएपछि चरम विवाद सीर्जना भएको छ ।
सुरुमा गठन भएको कुवाबारी पुछारघर नाला मर्मत उपभोक्ता समितिका केहि व्यक्तिलाई जानकारी नै नगराई रातारात समिति परिवर्तन गरेको भन्दै स्थानीय रोहित फुयाँल र समितिका सचिव हरि फुयाँलबिच कुटाकुट नै भएको हो । रोहित फुयाँल सुरुमा गठन भएको समितिकी कोषाध्यक्ष गीता फुयाँलका श्रीमान् हुन् भने हरि फुयाँल परिवर्तित समितिमा पनि सचिवको भूमिकामा रहेका छन् ।
कोषाध्यक्षलाई जानकारी नै नदिई योजनाको सम्झौता गरेर काम गर्न लागेको थाहा पाएपछि आफूले आवाज उठाउँदा सचिव हरि आफूमाथि आक्रमणमा उत्रिएको रोहित फुयाँलको आरोप छ । दुवैजनाबिच हात हालाहालको अवस्था आएपछि छौँडे प्रहरीले रोहित फुयाँललाई नियन्त्रणमा लिई एक रात हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालय चरिकोट मिलापत्र गराईएको वडा अध्यक्ष कृष्ण प्रसाद फूयाँलले भिलेज खबरलाई जानकारी दिनुभयो ।
उपभोक्ता समिति परिवर्तन गर्दा टोल भेला गरेर गर्नुपर्ने भएपनि आफ्नो परिवारमा कुनै जानकारी नदिईएको रोहित फुयाँलले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष खड्ग प्रसाद फुयाँलले भने सम्झौताका लागि कोषाध्यक्षसँग नागरिकता माग्दा उपलब्ध नगराएपछि भेला गरेर कोषाध्यक्ष र एक जना सदस्य परिवर्तन गरेको बताउनुभयो ।
वडा अध्यक्ष फुयाँलको रोहबरमा गत असोजमा गठन गरेको समिति वडा अध्यक्षकै रोहबरमा रातारात पुनर्गठन भएको स्थानीयको आरोप छ । राम्रो काम गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेकै कारण वडा अध्यक्षले वडा स्तरमा गठन हुने विभिन्न समिति समेत आफ्नो अनुपस्थितीमा गठन गर्ने गरेको एक वडा सदस्यको गुनासो छ ।
विवादित बनेको उपभोक्ता समितिका केहि पदाधिकारीहरुले कोषाध्यक्ष गीता फुयाँलसँग काम गर्न असहज भएको भन्दै नयाँ समिति गठन गरेर माईन्युट वडामा ल्याएपछि जसरी पनि काम सम्पन्न गर्नुपर्छ भनेर आफूले हस्ताक्षर गरिदिएको वडा अध्यक्ष फुयाँलको भनाई छ ।
परिवर्तित समितिले पुस १ गते गाउँपालिकामा सम्झौता गरेर काम सम्पन्न गर्ने अन्तिम चरणमा पुगेको छ । उक्त योजनाका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।