दोलखा । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक बर्ष प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका ‘प्रदेय’ सोमबार सार्वजनिक भएको छ ।
चरिकोटमा आयोजित समितिको १२ औं बार्षिक साधारणसभा कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरले ‘प्रदेय’ को १३ औं अङ्क सार्वजनिक गर्नुभएको हो । पत्रिकामा दर्जनौं स्रष्टाहरुका कथा, कविता, नियात्रा, गजल लगायतका सिर्जनाहरु प्रकाशित भएका छन् ।
समितिका संरक्षक दोलखाका अग्रज पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्म दिने आमाहरुको सम्मानमा वितरण गर्दै आउनुभएको विष्णुलक्ष्मी÷तुल्सीमाया साहित्य सम्मान २०८० बाट दोलखाका पुराना साहित्यकार अमर प्रधान सम्मानित हुनुभएको छ । दोलखामा जन्मेर आफ्ना सिर्जनामार्फत नेपाली साहित्य क्षेत्रमा योगदान गरेको भन्दै समितिले नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
समिति संरक्षक मास्केले हरेक बर्ष माघ १ गते आफ्नो जन्मदिनको अवसर पारेर समितिमार्फत पत्रिका सार्वजनिक तथा पुरस्कार वितरण गर्दै आउनुभएको छ ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष तथा कवि बिष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भीमेश्वर नगर उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य, भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ दोलखा साहित्य प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत लगायतको सहभागिता रहेको थियो ।