पुस १ गते महेन्द्रमा समर्पित छ। यसको अपनत्व लिन हालका नवमहेन्द्रवादी पनि हच्किन्छन्। मसँग ०१७ साल पुस १ गतेको सम्झना छैन। म मात्र आठ वर्षको थिएँ। त्यस दिन के भयो के कस्ता घटना भए, मलाई कुनै सम्झना छैन। त्यसपछिका घटनाका केही धमिला तर मलाई उद्वेलित पार्ने स्मरण अहिले पनि बाँकी छन्।
मिति सम्झना छैन। एक दिन अकस्मात केही हतियारधारी प्रहरीसहितका मानिस हाम्रो घरमा आए, केही समय मेरा पिताजीसँग कुरा गरे र साथै लिएर गए। पछि थाहा पाएँ– बन्दी बनाएका रहेछन्। राजाले थुनेको भन्दथे। घरमा तँलाई थुन्छु भन्दै आमा डर देखाउनु हुन्थ्यो। साँच्चिकै थुन्ने भन्ने शब्दको अर्थ त्यसै दिन बुझें। मलाई लाग्यो, राजाको काम मान्छे थुन्ने रहेछ। जन्म दिने आमाको माया र काख सानोमै गुमाएको म त्यस दिनबाट लामो समयसम्म पिताको स्नेह र काखबाट पनि वञ्चित भएँ।
त्यसको करिब एक वर्षपछि जाडो समयको बिहानै अर्घा मैदानमा केही सैनिक आए। हल्ला सुनी हामी केही केटाकेटी मैदानमा जाँदा हामीलाई पढाउने गुरुको शरीरमा सैनिकहरू लाठी बर्साउँदै थिए। पटकपटक लाठीले हान्दा गुरु अचेत भई ढल्नुभयो। अरू मानिसलाई पनि हतियारसामुन्ने राखेर घेरेका थिए। पछि मानिसहरू भन्थे– सोझा, निरपराध, पण्डितमाथि राजाले अत्याचार गरे। ती गुरु अति भद्र र राजनीतिप्रति कुनै सरोकार नभएको हुनुहुन्थ्यो। पछि थाहा पाएँ– उहाँको अपराध भनेको काशीनाथ गौतमको जेठान हुनु रहेछ। राजाले अत्याचार गर्दा रहेछन् भन्ने त्यसै दिन थाहा पाएँ।
यी बाल्यकालका घटनाको मेरो मनमस्तिष्कमा प्रभाव छ। मलाई अधिनायकवादविरुद्धको राजनीतितर्फ प्रेरित गर्ने पनि यही मनोविज्ञान होला। यी स्मृतिका कारण महेन्द्रका बारेमा लेख्दा पूर्वाग्रही पनि हुन सक्छु। त्यसैले महेन्द्रका बारेमा मेरा व्यक्तिगत धारणा र तर्कभन्दा तथ्यमा मात्र विश्लेषण गर्छु।
२०१७ अघि पनि महेन्द्रको भूमिका प्रजातन्त्रमैत्री थिएन। त्यसअघि पार्टीहरू क्रियाशील रहेकाले राजाको काम परोक्ष रह्यो। २०१७ पछि सत्ता आफैं लिई प्रत्यक्ष शासन गरेकाले त्यसपछिको जिम्मेवारी राजाको हुन्छ। त्यसैले २०१७ पुस १ गते संसद् र सरकार भंग गर्दा राजाले आरोप लगाएका कुरालाई लिएर उनको मूल्यांकन गर्नु उचित हुन्छ। पुस १ गतेको शाही घोषणाबाट संसद् भंग गर्दा राजाले चार आरोप लगाएका छन्। (१) भ्रष्टाचार गरेको, (२) राष्ट्रहितभन्दा पार्टीहित हेरेको, (३) शान्तिसुरक्षा कायम गर्न असफल, (४) अराष्ट्रिय तत्वलाई प्रोत्साहन गरेको। तथ्य र प्रमाण प्रस्तुत नगरी लगाइएका यी आरोपबारे विचार गरौं।
भ्रष्टाचार गरेको
पुस १ गते प्रधानमन्त्री, सभामुखसहित देशभरबाट हजारौं नेता–कार्यकर्ता गिरफ्तार गरिए, बन्दी बनाइए। ६ महिनादेखि ९–१० वर्षसम्म बिनाअभियोग शान्तिसुरक्षा राजकाज भन्दै थुनामा राखियो। यीमध्येका कुनै पनि नेता–कार्यकर्तालाई भ्रष्टाचारमा मुद्दा चलाइएन। रेडियोमा प्रधानमन्त्रीको निवासबाट यो वा त्यो भेटियो भनी प्रचार गरियो। सार्वजनिक गरिएन, देखाइएन। झूटो प्रचारको विरोधमा सुशील कोइरालाले राजाले उपहार दिएका वस्तु दरबार फिर्ता पठाइदिनुभयो। यो त उपहार दिएको राख्नुस् भन्दा झूटो प्रचार गर्नेको उपहार राख्न सक्दिनँ भन्नुभयो। नेताको खिलाफमा भ्रष्टाचार देखाउन सकेनन् नै त्यस समयका कुनै पनि उच्च पदस्थ राजनीतिक पदाधिकारीलाई भ्रष्टाचारको अभियोगसम्म लगाउन सकेनन्। भ्रष्टाचारको प्रचार फगत बदनामी गर्ने आरोप मात्र थियो।
राष्ट्र हितभन्दा पार्टी हित हेरेको
यो भनाइ दुराशययुक्त हो। राजनीतिक दल प्रजातान्त्रिक प्रणालीका अभिन्न अंग हुन्। दलको लोकप्रियताका लागि राष्ट्र हितभन्दा अर्को कुनै पार्टी हित हुँदैन। कुनै दल राष्ट्र हितभन्दा बाहिर जान्छ भने निश्चित छ– त्यो जनताबाटै पतन हुन्छ। जनदबाबले पनि दललाई राष्ट्र हितभन्दा बाहिर जान दिँदैन। दलकै लोकप्रियताका लागि पनि राष्ट्र हितअनुकुल चल्नुपर्ने हुनाले दलीय व्यवस्था राष्ट्र हितविपरीत भन्ने भनाइ नै दोषयुक्त छ। तत्कालीन सरकारले राष्ट्र हित हेरेन भन्ने हो भने १८ महिनाको छोटो कार्यकालमा राष्ट्र हित प्रवर्धन गर्ने अनेक ऐतिहासिक काम भएका छन्। नेपाल सानो देश भएको हीनग्रन्थिबाट मुक्त भएर समानताका आधारमा दुवै छिमेकीसँग व्यवहार ग¥यो। मुस्ताङ घटना, सीमा विवादमा चीनसँग र हिमालय शृंखलालाई भारतीय सुरक्षा घेरा भन्ने भारतलाई सुधार गर्नुपर्ने बनायो। पाकिस्तान, इजरायलसँग दौत्य सम्बन्ध कायम गरेर स्वतन्त्र निर्णय गर्न सक्ने परिचय बनायो। भारत, चीन, अमेरिका, बर्मा तथा इजरायललगायतका देशमा मैत्रीपूर्ण भ्रमण, भारत र चीनका प्रधानमन्त्रीहरूको नेपाल भ्रमण, संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको प्रभावशाली सम्बोधनबाट नेपालको सम्मान बढाउने काम भयो। देशभित्र उद्योग, कलकारखानाको सुरुवात, बाटो निर्माण, सिँचाइ, खानेपानी, विद्यालय, विश्वविद्यालय, कृषि विकास, भूमिसुधार आदि कामबाट विकास निर्माणको सुरुवात ग¥यो। सरकारी कामकाजमा भारतीय नोटको प्रयोग विस्थापन ग¥यो। यी कुन काम राष्ट्र हितविपरीत थिए ? निश्चय नै, यी काम गर्दा पार्टीको लोकप्रियता बढेको थियो तर त्यो लोकप्रियता राष्ट्र र जनताका पक्षमा काम गरेका कारण बढेको थियो। महेन्द्रको आरोप जनताको मुख थुनेर गरेको झूटो प्रचार थियो।
शान्तिसुरक्षा
शान्तिसुरक्षा कायम गर्न असफल भएको आरोप लगाएका छन्। बाह्य सुरक्षा खतराको त्यस समयमा सम्भावना नै थिएन। चीन नेपालसँग प्रसन्न थियो। भारतीय सुरक्षा छाता अस्वीकार गरेकोमा र बीपीले संयुक्त राष्ट्रसंघमा चीनको उपस्थितिबिना संयुक्त राष्ट्र अपुरो रहन्छ भनेकोमा। नेहरू बीपीको व्यक्तित्वबाट त्रसित भए पनि द्विदेशीय सम्बन्धको भूमिकामा सन्तुष्ट थिए। चीनसँग राम्रो सम्बन्ध बनाउन बीपीलाई सल्लाह दिन्थे। अमेरिका, रूससँग पनि सम्बन्ध राम्रो थियो। विदेश नीति सन्तुलनमा थियो।
आन्तरिक शान्तिसुरक्षामा पनि कुनै अव्यवस्था भएको थिएन। गोरखामा दरबारबाटै खटाइएका नरहरिनाथले उपद्रव मच्चाउने प्रयास गरेका थिए। त्यसलाई सरकारले नियन्त्रणमा लिएको थियो। सरकारको भूमिसुधार कार्यक्रमबाट अप्रसन्न दाङका जमिनदारले केही बदमासी गरेका थिए। त्यो पनि सरकारको नियन्त्रणमा थियो। शान्तिसुरक्षा खल्बलिने कुनै पनि अवस्था थिएन। राणाशासनको बन्द समाजमा बसेका र आलोचना, विरोध सहन नसक्ने भारदारी दरबारियालाई प्रजातन्त्रको स्वतन्त्रता कोलाहल लाग्दो हो। यसैलाई अशान्ति मान्दा हुन्। राज्य व्यवस्थामा खलल पार्ने अशान्ति कतै थिएन। अशान्ति त पुस १ गतेले ल्यायो। जनता उकुसमुकुसबाट अशान्त बने। राष्ट्र व्यवस्था पक्षधर र विपक्षमा विभक्त भयो। सबै ढोका थुनिदिँदा हतियार उठाउनुपर्ने परिस्थिति सिर्जना भयो। अशान्तिको आरोप लगाउने राजाले नै अशान्तिको सुरुवात गरे।
अराष्ट्रिय तत्वलाई प्रोत्साहन
यो पनि काल्पनिक आरोप थियो। को थियो अराष्ट्रिय तत्व ? कसले गरेको थियो राष्ट्रविरोधी गतिविधि ? पुस १ पछि के राजाले कुनै अराष्ट्रिय तत्वलार्इै सामुन्ने ल्याए ? संलग्नताको प्रमाणसहित कसैलाई कारबाही गरे ? कही देखिँदैन। कालान्तरमा राजनीतिक पार्टीहरूलाई नै अराष्ट्रिय तत्वको आरोप लगाए। देशभक्त पार्टीहरूलाई अराष्ट्रिय बनाउँदै स्वयं राजाले नै जनता विभाजन गरे। देश कमजोर बनाउने कामका हर्ताकर्ता बने।
राजा महेन्द्रले लगाएका आरोपमा कहींकतै पनि सत्यता देखिँदैन। संसद् भंग गर्न र सरकार खारेज गर्न मात्र लगाइएका आरोप हुन्। प्रजातन्त्रवादी सत्यमा चल्छ तानाशाहले झूटको सहारा लिन्छ। आफ्नो एकलौटी शासन चलाउने महत्वाकांक्षाका लागि राजाले प्रजातन्त्रको हत्या मात्र गरेका होइनन्, उनले असत्यको सुुरुवात गरेर मानिसलाई चरित्रहीन बनाए। आफ्नै क्रियाकलापले राजतन्त्रमाथि रहेको नेपालीको आस्था खण्डित गर्ने कामको पनि सुरुवात गरे।
केही मानिस महेन्द्रलाई राष्ट्रवादी, देश विकासको दृष्टि भएको सन्तुलित परराष्ट्रनीति सञ्चालन गर्ने राजाका रूपमा मान्छन्। विकासवादी राजा, असंलग्न आन्दोलनका अभियन्ता, पञ्चशील सिद्धान्तका प्रवर्तक आदि गुणगानले विभूषित गर्छन्। पञ्चायतकालभरि यी कुरा हरेक पञ्चका मञ्चबाट जपिरहने गायत्री मन्त्र हुने गर्थे। अझै पनि केही राजावादी यिनै कुराबाट महेन्द्रको गुणगान गाउँछन्, तर ऐतिहासिक तथ्यले यसलाई सत्य प्रमाणित गर्दैन।
असंलग्न आन्दोलनको पृष्ठभूमि सन् १९५५ को अफ्रो–एसियाली बाङडुङ सम्मेलन हो। यसका आयोजक इन्डोनेसिया, बर्मा, पाकिस्तान, श्रीलंका र भारत हुन्। १९५६ मा युगोस्लाभियाको ब्रिजुनी द्वीपमा नेहरू, टिटो र नासेरले हस्ताक्षर गरेको घोषणापत्र ब्रिजुनी घोषणा जारी गरेपछि मात्र १९६१ मा बेलग्रेडमा नेहरू, टिटो, नासेरका अतिरिक्त सुकार्नो र घानाका राष्ट्रपति क्वाने निक्रुमाईको अग्रसरतामा नामको स्थापना भयो। यसमा मात्र महेन्द्रले भाग लिएका थिए। योभन्दा पहिले बीपीले १९६० मा राष्ट्रसंघमा सम्बोधन गर्दा नेपाल कुनै सैनिक गुटमा नरहने सबै देशसँग मित्रवत् रहने भनी नेपाल असंलग्नताको पक्षमा रहने बताउनुभएको थियो। नेपालको भूअवस्थितिले पनि नेपालले असंलग्नता अपनाउनुपर्ने थियो, जसमा बीपी पहिल्यै सचेत हुनुहुन्थ्यो। नेपालले आफ्नो स्थिति स्पष्ट गरिसकेपछि सन् १९६१ मा मात्र नामको घोषणा गरियो। असंलग्न आन्दोलनको नीति निर्माणमा राजा महेन्द्रको कुनै भूमिका थिएन। असंलग्नताबाहेक नेपालसँग अरू विकल्प पनि थिएन।
भारत र चीनबीच २८ अप्रिल १९५४ मा भएको सन्धिका पाँच सिद्धान्तलाई पछि पञ्चशील भनियो। यही सिद्धान्तलाई नेपालले मानेको हो। शान्ति चाहने सबै देशले यी सिद्धान्त स्विकार्छन्। यद्यपि पञ्चशीलको सन्धि गर्ने देश आठ वर्षपछि आफैं युद्ध गर्न पुगे।
भारतीय सैनिक मिसन, मौजमस्तीमै रमाउने र भारतीय प्रभावमा रहेका राजा त्रिभुवन र भारतीय प्रभावले प्रधानमन्त्री भएका मात्रिकाप्रसादले भिœयाएका हुन्। भारतीय सैन्य मिसन फिर्ता हुनुपर्छ भनी २०१३ सालमा बीपीले भारतकै पटनामा पत्रकार सम्मेलनमै बताउनुभएको थियो। बीपीको अठारमहिने शासनकालमा चीनसँग मुस्ताङ, ओलाङचुङ्गोलालगायतका ठाउँमा सीमा विवाद भई चिनियाँ सैनिकले नेपालमा लुटपाट र हत्या गरेका कारण एकैपटक दुवै मोर्चा खोल्न उहाँलाई सहज भएन। सीमा विवाद टुंग्याउन कार्यदल गठन भयो। बीपीले माओ, चाउ एन लाईसँग गरेका व्यवहार अहिले पनि चिनियाँहरू आदरका साथ सम्झन्छन्। त्यही कार्यदलले बनाएको सीमानक्साअनुसार पछि १९६१ मा चीनसँग सम्झौता भयो। बीपीसँग सगरमाथाको चुचुरो नेपालकै हुने भनी चीनले स्वीकार गरेको महेन्द्रले सन्धि गर्दा के गरे अहिले पनि शंकाको विषय छ। यद्यपि पत्रकार सम्मेलनमा तुलसी गिरीले चुचुरो नेपालको हो भन्ने चीनले स्वीकार गरेको छ भनेका थिए। तर सन्धिमा के छ अहिलेसम्म प्रस्ट छैन। चीनसँग सन्धि भएको करिब पाँच वर्षपछि सैन्य मिसन फिर्ता त भयो, तर कालापानीमा सेना राख्न राजाले अनुमति दिए। सन् १९६५ को गोप्य तर आपत्तिजनक सन्धि पनि गरे। तानशाहका व्यवहार यस्तै हुन्छन्। दृश्यमा एउटा व्यवहार गर्छन्, भित्री पाटो बेग्लै हुन्छ, जो तत्काल जनताको सामुन्ने आउँदैन।
पूर्व–पश्चिम राजमार्गका सूत्रधार भनिन्छ। तथ्य र इतिहासले बताउँछ। पूर्व–पश्चिम राजमार्ग बीपी कोइराला सरकारले निर्माण गर्ने योजना बनायो र सर्वेक्षण गर्नका लागि रूससँग सन् १९६० मा सम्झौता पनि भयो। तर सम्झौता भएको चार महिनामै सरकार भंग गरियो। पछि महेन्द्रले त्यसैलाई अगाडि बढाए। जनकपुर चुरोट कारखाना, बीरगञ्ज चिनी मिल, कृषि औजार कारखाना स्थापना गर्न सहयोग गर्ने सम्झौता रूससँग त्यही समयमा भएको थियो। भूमि सुधार कार्यक्रमलाई विकृत बनाई कार्यान्वयन गरे। यथार्थमा महेन्द्रबाट कुनै नवीन काम भएन। अठारमहिने सरकारका योजना नै विकृत रूपमा लागू गरे।
राजा महेन्द्र विकासको सोच र राष्ट्रिय भावनाले ओतप्रोत भएका भए। उनलाई विकास गर्ने अनुकूल वातावरण थियो। सशस्त्र क्रान्तिको स्थगनपछि उनलाई नेपाली कांग्रेसबाट कुनै चुनौती थिएन। भारत र चीनबाट कुनै खतरा थिएन। यो समय देश विकासमा लगाएका भए नेपाल विकसित राष्ट्र बन्ने थियो। यही अवधिमा नेपालजस्तै र त्योभन्दा पनि खराब अवस्थामा रहेका एसियाकै सिंगापुर, दक्षिण कोरिया, ताइवान, इजरायलले विकास गरेर अहिले विकसित राष्ट्रमा गनिन्छन्। इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड पनि नयाँ औद्योगिक राष्ट्र बनेका छन्। तत्कालीन अवस्थामा पीएल ४८० बाट भोकमरी धानेको भारत अहिले औद्योगिक राष्ट्र बनेको छ। समयको सही उपयोग गरेको भए हाम्रोजस्तो प्राकृतिक संसाधनले परिपूर्ण देश ८–१० वर्षमा कायापलट हुन सक्थ्यो। तर राजा महेन्द्र झूटा प्रशस्तिको आत्मरतिमा रमाउँदै शक्ति सञ्चयमा लागे। देशको महत्वपूर्ण कालखण्ड अन्धकारमा बित्यो।
राजाहरू राष्ट्रवादी हुनु देशप्रतिको मायाले होइन। यो उनीहरूको स्वार्थ हो। राजा हुन देश चाहिन्छ। सम्मान पाउन देशको स्वतन्त्रता जरुरी हुन्छ। देश नरहे राजा रहिँदैन र अर्को देशको छत्रछायामा बस्नुप¥यो भने इस्ट–इन्डिया कम्पनीको समयका भारतीय दिवानहरूको जस्तो अवस्था हुन्छ। राजगद्दी र सम्मानका लागि स्वतन्त्र देश रहनुपर्ने राजाहरूको स्वार्थ हो। त्यसैले राजा महेन्द्रलाई राष्ट्रघाती नै भन्न उचित हुन्न। महेन्द्र राष्ट्रवादी हुन् तर देशप्रतिको माया र प्रगतिको चाहना उनको बनावटी मुखुण्डो हो। देश र जनताको माया भएका शासकले ऋणमा डुबेका जनताको करबाट चालीस करोड असुलेर आफ्नो सरकारी निवास सरकारलाई नै बेच्दैन। देशको सुरक्षालाई दीर्घकालीन असर गर्ने गरी आफ्नो महत्वाकांक्षाका खातिर सन् १९६५ को आपत्तिजनक सन्धि गर्दैन। महेन्द्रलाई एउटै कुरामा नेपालीले लामो समयसम्म सम्झिने छन् कि उनले जनताको मुख थुनेर नेपालको विकास र आधुनिकतामा प्रवेश गर्ने बाटो अवरुद्ध गरी एउटा महत्वपूर्ण कालखण्डलाई नेपालीका लागि अँध्यारो युग बनाए। साभारः अन्नपूर्ण पोष्ट दैनिक