काठमाण्डौं । फागुन १७ गतेदेखि ओजस थिएटर एण्ड फिल्म स्टुडियो रातोपुलमा नाटक ‘एक चिहान’ प्रदर्शन हुने भएको छ ।
उपन्यासकार हृदयचन्द्रसिंह प्रधानले लेख्नुभएको उपन्यास ‘एक चिहान’ लाई नाटकमा रुपान्तरण गरेर प्रदर्शन गर्न लागिएको थिएटर सञ्चालक समितिका सचिव उदिप शिवाकोटीले भिलेज खबरलाई जानकारी दिनुभयो । नाटकमा पूरानो काठमाण्डौं उपत्यकामा कृषि पेशा गरेर जिविकोपार्जन गर्ने निम्नवर्गीय ज्यापु समुदायको सामाजिक उतारचढावलाई उजागर गर्न खोजिएको छ ।
नाटक फागुन १७ गतेदेखि २५ गतेसम्म प्रदर्शन हुनेछ । कक्षा १२ को नेपाली विषयमा अध्यापन हुँदै आएको कथालाई नाटकमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई मनोरञ्जनसँगै पाठ्यबोध क्षमता अभिबृद्धि गर्ने लक्ष्य लिईएको छ ।
एचवि मगरको निर्देशन तथा विशाल महर्जन र निश्वम थापा मगरको सहनिर्देशन रहेको नाटकलाई अनिल अधिकारीले निर्माण गर्नुभएको हो । नाटकमा गोविन्द टि.आर., अनुजा बराल, हेमन्त लामिछाने, शान्ता राई, अबिन ठटाल, पूजा दाहाल, अपिल कार्की, अञ्जना दुलाल, एलिशा न्यौपाने, सविना तामाङ, राजु खतिवडा, अजय वान्तवा राई, शेखर ओजस, अनिल गुरुङ, उज्जवल कुलुङ राई, प्रदीप विश्वकर्मा, असन थिङ लगायतको अभिनय रहेको छ ।
नाटक हरेक शनिबार साँझ ५ बजे प्रदर्शन हुनेछ । अन्य समयमा भने बुकिङ समयअनुसार प्रदर्शन हुने थिएटरका सचिव तथा बजार व्यवस्थापक शिवाकोटीले जानकारी दिनुभयो ।