प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाले सम्पन्न मूलुकको पहिचान बनाएकै कारण नेपालको आर्थिक समृद्धिको एउटा मुख्य आधार पर्यटन क्षेत्र बनेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले नेपालको पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । यसबाट दोलखा पनि अछुतो रहेन् । लामो समयपछि गत मंसिरको तेश्रो साताबाट दोलखाका धार्मिकस्थलहरु दर्शनार्थीका खुल्ला गरिएपछि भने पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना संक्रमण जोखिम कम गर्न जारी गरिएको लकडाउनले दोलखाका होटल व्यवसायीहरुले भोग्नुपरेका समस्या, समस्या समाधानका लागि भएका पहलकदमी तथा धार्मिकस्थलहरु खुलेपछि जिल्लामा पर्यटकहरुको चहलपहलको अवस्था लगायतका विषयमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमति प्रदेशका सदस्य समेत रहनुभएका होटल संघ दोलखाका सदस्य पुष्कर बस्नेतसँग भिलेज खबरले गरेको कुराकानीको सम्पादित अंश ।
कोरोना भाईरस महामारीका कारण दोलखाको होटल तथा पर्यटन व्यवसायमा कस्तो असर परेको छ ?
कोरोना भाईरसको संक्रमण जसरी विश्वभरी फैलियो यसको असर पनि त्यसैगरी विश्वभरी नै परेको छ । यो भाईरसका कारण मानव स्वास्थ्यमा ठुलो चुनौती त भयो नै । त्योसँगै विश्वको अर्थतन्त्रमा पनि यसले नराम्ररी क्षति पु¥यायो । यसबाट दोलखाको होटल तथा पर्यटन व्यवसाय पनि अछुतो रहने कुरै भएन् ।
२०७६ को चैत्र ११ गतेदेखि लकडाउन जारी भएपछि एक हिसाबले देश नै ठप्प भयो । लकडाउनका कारण बजार, पसल, यातायात तथा सार्वजनिकस्थलमा जमघट हुन नपाउने भएपछि पर्यटकिय क्षेत्रहरु बन्द भए । जब धार्मिक तथा साँस्कृतिस्थल बन्द भए त्यसपछि कोहि पनि पर्यटकहरु जिल्ला भित्रिने अवस्था रहेन् । हामी पनि होटल बन्द गरेर चुपचाप बस्न बाध्य भयौं । किनकि कोरोनाको जोखिमले हामी आफैँ पनि त्रसित हुन पुग्यौं । त्यतिबेला त लकडाउन भयो ठिकै भयो । जीवनरक्षा नै सबैभन्दा ठूलो कुरा हो भन्ने भयो । जब लामो समयसम्म लकडाउन भयो, आर्थिक गतिविधिहरु केहि हुन पाएन्न । व्यवसायीहरुले गर्नुपर्ने नियमित आर्थिक कारोबारको समय भएपछि भने ठूलै तनाव झेल्नु परेको छ । कतिपय व्यवसायीहरु आर्थिक भार धान्न नसकेर व्यवसायबाट नै पलायन हुनु परेको छ ।
होटल व्यवसायीहरुले अहिले झेलीरहेका समस्याहरु के–के हुन् ?
खासगरी व्यवसायीहरुको मुख्य समस्या भनेकै आर्थिक समस्या हो । दोलखाका अधिकांश होटल व्यवसायीहरुले घर भाडामा लिएर व्यवसाय संचालन गरीरहेका छौं । त्यसो हुँदा आधारभूत कुराहरुमा मासिक रुपमा घरभाडा बुझाउनुपर्छ । घरमा प्रयोग हुने बिजुली, पानी, ईन्टरनेट लगायतका सेवाको शुल्क तिर्नुपर्छ । अर्को मुख्य कुरा भनेको व्यवसायीहरुले बैंकबाट ऋण लिएर व्यावसाय चलाईरहेका छौं । मासिक रुपमा बैंकमा ऋणको ब्याज र किस्ता तिर्नुपर्ने हुन्छ । त्यसैगरी व्यवसाय संचालन गरे बापत विभिन्न शीर्षकमा राज्यलाई कर तिर्नुपर्छ । अब यसरी हरेक ठाउँमा आर्थिक कारोबार गर्नुपर्ने हुन्छ । तर व्यवसाय नै संचालन हुन नपाएपछि आम्दानी बिनाको खर्च मात्रै गर्नपर्ने हुन्छ । अनि कसरी व्यवसायीहरुले कसरी खर्च धानेर व्यवसायलाई निरन्तरता दिन सकिन्छ त ? त्यसो हुँदा सम्बन्धि निकायले हाम्रो मर्का बुझिदिने काम गर्दैन् । यतिबेला त हामी धेरै मारमा परेका छौं नि ।
तपाईँहरुका समस्या समाधानका लागि के कस्तो पहलकदमी गरीरहनुभएको छ ?
हाम्रा समस्या समाधान गर्न सकिन्छ कि भनेर हामीले धेरै पहलकदमी गरीरहेका छौं । गत मंसिर ५ गते होटल संघ दोलखाले हाम्रा समस्याहरुका बारेमा जिल्ला प्रशासन कार्यालय, भीमेश्वर नगरपालिका, उद्योग वाणिज्य संघ लगायतका विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाएका छौं । जसमा तत्कालिन अवस्थामा बन्द रहेका जिल्लास्थित धार्मिकस्थलहरु खुलाउनुपर्ने, घरबेटीहरुसँग छलफल गरेर घरभाडामा छुट गराउनुपर्ने, बैंकको ऋणको ब्याज तथा किस्ता तिर्ने भाका नाघेकोमा समयावधि थप गर्नुपर्ने, व्यावसाय निरन्तरताका लागि सहुलियत ब्याजदरसहितको कर्जाका लागि सहजीकरण गरिदिनुपर्ने लगायतका कुराहरु उल्लेख गरेका छौं ।
हामीले उठाएका सवालमध्ये अहिले जिल्लाका धार्मिकस्थलहरु दर्शनार्थीका लागि खुल्ला गरिएको छ । जसले गर्दा पर्यटकहरुको थोरै मात्रामा भएपनि आवागमन भईरहेको छ । होटल संघ दोलखाको अगुवाईमा चरिकोटका केहि घरबेटीसँग छलफल भएको थियो । सबैको उपस्थिती नभए पनि उपस्थित भएकाहरुले केहि मात्रामा घरभाडा छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बैंकिङ कारोबार सम्बन्धि विषयमा भने अधिकांश माथिल्लो तहबाट निर्णय हुनुपर्ने भएकोले यसै हुन्छ भन्न सक्ने अवस्था छैन् । केहि संचार माध्यममा सहुलियत ब्याजदरमा पुर्नकर्जाको व्यवस्था गरिएको लगायतका विषयमा समाचार आएको भएपनि हामीलाई बैंकहरुले आधिकारिक रुपमा कुनै सूचना गरेका छैनन् ।
जिल्लामा धार्मिकस्थलहरु खुलेपछि पर्यटन व्यवसायमा कत्तिको राहत महशुस भईरहेका छ ?
स्थानीय प्रशासनले जसरी हाम्रो सुनुवाई गरेर धार्मिकस्थलहरु खुलाएको छ । यसमा हामी व्यवसायीहरु खुसी भएका छौं । उहाँहरुलाई हामी धन्यवाद दिन चाहान्छौं । तर राहतको कुरा भनेकोचाहिँ सात आठ महिना लामो समयसम्म भएको क्षति भर्खरै एक डेढ हप्तामा कम भईहाल्छ भन्ने होईन् । के मात्रै खुसी हो भने कम्तीमा शुरुवात हुन सक्यो । हामी यसैमा खुसी भएका हौं । कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्ने टुङ्गो छैन् । संक्रमणको जोखिम कायमै छ । तैपनि सुरक्षाका उपायहरु अबलम्बन गरेर सेवा दिईरहेका छौं । औषतमा दैनिक तीनदेखि चारवटासम्म कोठमा बस्ने पाहुनाहरु आउन थाल्नुभएको छ । यसले केहि हदसम्म आशाको संचार गरेको छ ।
तपाई त होटल तथा पर्यटन व्यवसायी संघ, बागमति प्रदेशको सदस्य पनि हुनुहुन्छ, खास यो संघ कस्तो खालको संरचना हो ?
हाम्रो देश नै संघिय संरचनामा गईसकेपछि तीन तहमा विभाजित भएको छ । तर हामी होटल व्यवसायीहरुको सांगठानिक संरचना भने केन्द्र र जिल्ला तहमा मात्र रहेको थियो । केन्द्रमा होटल संघ नेपाल (हान) र जिल्लास्तरमा होटल संघ थियो । यी दुवै निकायले प्रदेश सरकारसँग सहकार्य गर्न अलि अफ्ठ्यारो भएकोले बागमति प्रदेशका १३ वटै जिल्ला संघलाई समेटेर प्रदेशस्तरमा होटल तथा पर्यटन व्यवसायी संघ भनेर गठन गरिएको हो । करिब दुई बर्षअघि यो संघको तदर्थ समिति गठन गरिएकोमा गत बर्ष २०७६ पुसमा पहिलो अधिवेशन गरेर नुवाकोटका होटल व्यवसायी सन्तोष उप्रेतीको नेतृत्वमा संगठनलाई आधिकारिकता दिईएको हो । जिल्लामा होटल संघ भनिएको भएपनि होटल, रेस्टुरेण्ट, क्याफे, डान्स बार लगायत विभिन्न व्यवसायसँग सम्बन्धित व्यावसायीहरुको संलग्नता रहेकोले प्रदेशस्तरमा होटल तथा पर्यटन व्यावसायी संघ भनेर गठन गरिएको हो ।
प्रदेशस्तरमा सहकार्यका लागि यो संघ स्थापित भएको भन्नुभयो, खासमा यो संघले के काम गरीरहेको छ ?
हामी मासिक रुपमा फरक–फरक जिल्लामा समिक्षा बैठक गर्ने गर्दछौं । जसमा प्रत्यक जिल्लाबाट प्रतिनिधित्व गर्ने साथीहरुले आफ्नो जिल्लाको व्यवसायको अवस्था, भोग्नुपरेका समस्या, समस्या समाधानमा भए गरेका पहलकदमी तथा सफलता र आगामी समयका लागि नयाँ योजना बनाउने गरेका छौं । जसमा एक जिल्लाका व्यवसायीले गरेका सफल अभ्यासको अनुसरण गर्ने गरेका छौं । अर्को कुरा हामी एकअर्को जिल्लाको बारेमा प्रचारप्रसार गर्ने र एक जिल्लामा आएका पर्यटकलाई अर्को जिल्लामा पठाउन सहजीकरण गर्ने गरी समन्वय गर्ने गरेका छौं । हामीले होटल व्यवसायीलाई प्रतिस्पर्धीको रुपमा नहेरी सद्भावपूर्ण तरिकाले व्यवहार गर्ने गरेका छौं । त्यस्तै संघले पर्यटन व्यवसायको क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको क्षमता अभिबृद्धि गरी समयसापेक्ष बनाउने काममा पनि चासो दिने गरेको छ । कोरोनाको जोखिमका कारण धेरै कामहरु गर्न सकेका छैनौं ।
जहाँसम्म प्रदेशस्तरको सहकार्यको कुरा छ, त्यसमा पनि हामी लागि परेर काम गरीरहेका छौं । नयाँ संगठन भएको नाताले प्रदेशस्तरको राज्यको निकायले पूर्णरुपमा विश्वास नगरेको अवस्था छ । पर्यटन विकास र व्यावसायलाई सहजता तुल्याउने आशयले हामीले लिएर गएका प्रस्ताव तथा योजनाहरुलाई त्यति महत्व नदिएको हामीले महशुस गरेका छौं । होटल व्यावसायमा ठूलो लगानि गरेका तारे होटलहरु संलग्न रहेको होटल संघ नेपाललाई बढी विश्वास गर्ने र हामी जस्ता मझौला व्यवसायीचाहिँ व्यवसायी नै होईन्न भने जसरी व्यवहार गरिएको छ, यो हाम्रो लागि दुःखको कुरा हो । सबै पक्षले बुझ्नुपर्ने कुरा भनेको पर्यटन विकास भनेको हामी होटल व्यावसायीको नितान्त निजी एजेण्डा भने होईन् । तसर्थ सबै पक्षको ध्यान जान जरुरी छ ।
कोरोनाको जोखिम कायम रहेको बेला कसरी सेवा प्रवाह भईरहेको छ ?
हामीले बिर्सनै नहुने कुरा भनेको यहि हो । कोरोनाको जोखिम उत्तिकै छ । तर बाध्यतावश हामी सबै पक्ष बाहिर नआई भएकै छैन् । हाम्रो व्यवसायको हकमा पनि त्यहि हो । नेपाल सरकारले भनेका मापदण्डको पालना हामी सबैले पालना गर्नैपर्छ । यो जोखिम हामी व्यवसायी र पर्यटकहरुलाई बराबरी हो । हामीलाई अलि सहज भनेको के हो भने जो पाहुना आउनुहुन्छ, उहाँहरु प्नि स्वास्थ्य सुरक्षाका मापदण्डकाब बारेमा त्यति नै चनाखो हुनुहुन्छ । माक्स लगाउने, साबुन पानीले हात धुने, स्यानीटाईजरको प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने काम गरीरहनु नै भएको छ । हामीले पाुहनालाई कोठमा प्रवेश गराएपछि खान नास्तादेखि सबै सेवा कोठमै उपलब्ध गराउने गरेका छौं । कतिपय भाँडाकुँडा पनि उहाँहरु होटलमा बसुञ्जेल एउटै प्रयोग गर्ने गर्नुभएको छ । सेवा तथा बस्तु बापत उहाँहरुले दिने शुल्क स्वरुपको पैसा पनि हामीले निश्चित समयसम्म छुट्टै राखेर मात्र चलाउने गरेका छौं । त्यसो हुँदा स्वास्थ्य सुरक्षाको कुरामा हामी चनाखो छौं ।
अन्तमा, दोलखा आउन चाहाने पर्यटकहरुलाई के भन्न चाहानुुहुन्छ ?
दोलखा आउन चाहानेलाई मात्र होईन अन्य महानुभावहरुलाई पनि दोलखा आएर यहाँको प्राकृतिक सौन्दर्यता, धार्मिक आस्था र विविध किसिमको सामाजिक संस्कार नियालीदिनहुन अनुरोध गर्दछु । जिल्लामा रहेका भीमेश्वर मन्दिर, कालिञ्चोक भगवतीको मन्दिर, शैलुङका सय थुम्का, नेपालको स्वीजरल्याण्ड भनेर चिनिने जिरी बजार, गौरीशंकर हिमाल, च्छोरोल्पा हिमताल, अपर तामाकोशी जलविद्युत आयोजनास्थल लगायत सैयौं हेर्न र घुम्नलायक प्राकृतिक तथा धार्मिक सम्पदाहरुको अवलोकन गर्न सक्नुहुन्छ । मैले भनेभन्दा धेरै ठाउँहरु यहाँ घुम्न लायक छन् । तसर्थ एक पटक आउनको लागि समय मिलाउनुभयो भने अर्को पटक त हामीले भन्नै पर्दैन् । अर्को कुरा मैले माथि नै पनि भनेको छु, कोरोना संक्रमणको जोखिम कायमै भएपनि हामीले सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गरेका छौं र गर्छौ पनि । तसर्थ निर्धक्क भएर दोलखा आउनुहोस हामी तपाईँको स्वागतका लागि तयार छौं ।