दोलखा । जनमुखी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा माधव प्रसाद दाहाल दोश्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको उम्मेवारको अन्तिम नामावली अनुसार अध्यक्ष दाहालसहित सम्पूण सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो । भिलेज खबरसँग कुराकानी गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष दाहालले पछिल्लो समय शहरी क्षेत्रका केहि सहकारीमा देखिएका विकृति सहकारीमा प्रवेश गर्न नदिई सहकारीप्रति बचतकर्ताको विश्वास कायम राख्न आफूले भूमिका खेल्ने बताउनुभयो ।
समितिको बरिष्ठ उपाध्यक्ष गीताकृष्ण शर्मा, उपाध्यक्ष कृष्णकुमारी बस्नेत, सचिव लक्ष्मण चौलागाँई, सहसचिव मोहन कुमार खड्का तथा कोषाध्यक्षमा तोयानाथ दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा यज्ञराज खतिवडा, मन्दिरा दाहाल, शुसिला खतिवडा, रमेश बस्नेत, तारादेबी खड्का बस्नेत, प्रमेप्रसाद न्यौपाने, अर्जुन काफ्ले, सावित्री घिमिरे र कमल प्रसाद चौलागाँई निर्वाचित हुनुभएको छ । त्यस्तैगरी दलित तथा जनजाति सदस्यमा गीता भुजेल निर्वाचित हुनुभएको छ ।
माधव प्रसाद दाहालको संयोजकत्वमा निर्वाचित लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा विन्दा पराजुली र केशव प्रसाद दाहाल निर्वाचित हुनुभएको निर्वाचन उपसमितिले जनाएको छ । नवनिर्वाचित सञ्चालक समितिको कार्यकाल चार बर्षको हुनेछ ।
बैतेश्वर गाउँपालिका वडा नम्बर–५ मैनापोखरीस्थित मुख्य कार्यालय रहेको सहकारी संस्थाको दोलखासहित काभ्रेपलाञ्चोक, भक्तपूर, काठमाण्डौं र ललितपूर गरी ५ जिल्लाबाट सेवा प्रवाह गर्दै आएको छ । झण्डै २३ हजार शेयर सदस्य तथा बचतकर्ता रहेको संस्थाको पुँजी १ अर्ब ३९ करोड रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।