दोलखा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दोलखाद्वारा आयोजित “शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी सङ्गठनको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता शनिबार चरिकोटमा सम्पन्न भएको छ ।
६० औं बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा सहिद स्मृति माध्यामिक विद्यालय जिरीकी छात्रा मेलिसा ढुङ्गेल प्रथम भएकी छिन् । त्यसैगरी हनमुन्तेश्वर माध्यामिक विद्यालय काब्रेका छात्र निशान्त दाहाल दोस्रो, द राईजिङ स्टार बोर्डिङ चरिकोटकी छात्रा मिमांशा न्यौपाने तेश्रो तथा मोर्डन नेपाल बोर्डिङ चरिकोटकी छात्रा कृष्टिका खड्का सान्त्वमा भएकी छिन् ।
प्रतियोगिताका विजेताहरु प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई पुरस्कार स्वरुप क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरिका विभिन्न ३३ ओटा विद्यालयका ३३ जना छात्रछात्राहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रिय कोषाध्यक्ष संगम अर्यालले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थी हकहितका लागि अनेरास्ववियु निरन्तर रुपमा लागिरहेकोले धेरै विषयमा सफल भएको बताउनुभयो । एक अर्को प्रसङ्गमा अर्यालले अनेरास्ववियु पार्टी नेतृत्वले गरेको गलत कामको समेत खुलेर विरोध गर्ने सङ्गठन रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा बागमती प्रदेशसभाका सांसद भरत केसी, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डबल पाण्डे, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य सागरहरी अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी नेता शक्ति पाठक, अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेल, अनेरास्ववियु बागमती प्रदेश कमिटीका सङ्गठन विभाग प्रमुख शंकर पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।