दोलखा । हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित उपन्यासमा आधारित नाटक ‘एक चिहान’ मङ्गलबारदेखि चरिकोटमा प्रदर्शन सुरु भएको छ ।
ओजस थिएटरले उत्पादन गरेको नाटक रोल्वालिङ मिडिया चरिकोटसँगको सहकार्यमा दोलखामा प्रदर्शन सुरु भएको ओजस थिएटरका प्रबन्ध निर्देशक सागर कार्कीले जानकारी दिनुभयो । गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको हलमा दुई शो प्रदर्शन भएको नाटक कालिञ्चोक माध्यामिक विद्यालय, राईजिङ हिम्स एकेडेमी, मोर्डन नेपाल बोर्डिङ स्कूल लगायतका विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीहरुले अवलोकन गरेका छन् ।
नाटकको पहिलो शो अवलोकनमा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका निवर्तमान अध्यक्ष दिपशंकर चौलागाँई, पुर्व अध्यक्ष जीवन लामा, कालिञ्चोक माध्यामिक विद्यालयका प्रधानाध्यापक शम्भू गौतम लगायतको सहभागिता रहेको थियो ।
नाटक पुस १६, १७, १८ र २० गते चरिकोट आसपासका लागि गौरीशङ्कर बहुमुखी चरिकोट, १९ गते बैतेश्वर गाउँपालिका आसपासका लागि हनुमन्तेश्वर माध्यामिक विद्यालय मैनापोखरी र २१ गते जिरी आसपासका लागि जिरी माध्यामिक विद्यालय जिरीमा प्रदर्शन हुने भएको छ । पुस २० गते शनिबार चरिकोटमा हुने दिवा शो विद्यार्थी बाहेकका दर्शकको लागि प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।
कक्षा १२ को अनिवार्य नेपाली विषयमा पठनपाठन हुँदै आएको बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक विद्यार्थीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको हो । नाटक हेर्नका लागि विद्यार्थीका लागि ३ सय रुपैयाँ र अन्य दर्शकका लागि ४ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।