दोलखा । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको सङ्गठन प्रेस सेन्टर नेपाल दोलखा शाखाको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्र शनिबार दिउँसो चरिकोटमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका पुर्व वन तथा वातावरण मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्काले जिल्लाका महत्वपूर्ण विषयमा पत्रकारित क्षेत्रले आवाज उठाउन नसकेको आरोप लगाउनुभयो । पत्रकारहरु समेत कुनै न कुनै पार्टीनिकट भएका कारण सार्वजनिक महत्वका विषयमा समेत आवाज उठाउन डराएको पुर्वमन्त्री खड्काको भनाई छ ।
अधिवेशनको अवसरमा सहिद ऋत बहादुर खड्का स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट हाल माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रहेका पत्रकार बलराम थापालाई प्रदान गरिएको छ । पहिलो पटक प्रदान गरिएको पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । त्यसैगरी प्रेस सेन्टर दोलखाका संस्थापक अध्यक्ष लक्ष्मण खड्का र पुर्व अध्यक्ष शिवकुमार भुजेललाई पनि सम्मान गरिएको छ ।
प्रेस सेन्टर नेपाल दोलखाका अध्यक्ष सुरज बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका पत्रकार बलराम थापा, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, माओवादी केन्द्रका युवा नेता अर्जुन योगी, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, निवर्तमान अध्यक्ष दिपशङ्कर चौलागाँई, प्रेस सेन्टरका केन्द्रीय सदस्य दिल बहादुर केसी, प्रेस चौतारी नेपाल दोलखाका सचिव तारा विएम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।
शनिबार हुने अधिवेशनको बन्दसत्रले आगामी ३ बर्षका लागि प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दोलखाको नयाँ नेतृत्व चयन गर्नेछ ।