दोलखा । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दोलखाको १३ औं जिल्ला अधिवेशनले दिपक प्रसाद रिमालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
बुधबार चरिकोटमा सम्पन्न अधिवेशले खुल्ला उपाध्यक्ष रुद्रप्रसाद दाहाल, महिला उपाध्यक्ष गङ्गा रिमाल, सचिव विष्णु चौलागाँई, सहसचिव विकास चौलागाँई, कोषाध्यक्ष सरोज आचार्यलाई चयन गरेको नवनिर्वाचित महिला उपाध्यक्ष गङ्गा रिमालले जानकारी दिनुभयो । त्यसैगरी सदस्यहरुमा कमल प्रसाद चौलागाँई, गीता महत, आङलेकु शेर्पा, योगिता मल्ल, नेत्र प्रसाद शिवाकोटी, बबिता बस्नेत, कुमार सेढाँई, केदार खत्री, आशिष पौडेल, राष्ट्र कुमार श्रेष्ठ लगायत रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्नुहुँदै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सञ्चारमन्त्री पार्वत गुरुङले जीवनमा कुनै दाग नलाग्ने गरी इमानदार र शुद्ध भएर जनतालाई सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । प्रक्रियागत कुरा मात्र नभई देश र जनताको हितमा काम गर्नुपर्नेमा पुर्व सञ्चारमन्त्री गुरुङले जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य भरत केसीले कर्मचारीले दुःख दिन्छन् भन्ने भाष्यलाई चिरेर नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीले जनतालाई सरल सहज रुपमा सेवा दिन्छन् भन्ने भाष्य निर्माण गर्न सुझाव दिनुभयो ।
त्यसैगरी नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जुनसुकै पार्टीको सरकार भएपनि सरकारले ल्याएका नीति कार्यक्रमलाई इमानदारीतापूर्वक कार्यान्वयन गर्न सघाउनु कर्मचारीको पहिलो कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दोलखाका पुर्व अध्यक्षहरु यादवराज भण्डारी, चन्द्र बहादुर थापा, भीम केसी, हरि बहादुर जिरेल, औलख बहादुर आले, विमल कुमार श्रेष्ठ लगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष पृथ जिरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सङ्गठन जिल्ला कार्यसमितिका संस्थापक अध्यक्ष यादवराज भण्डारी, उपाध्यक्ष गौरी कार्की, सचिव गङ्गा रिमाल लगायतले मन्तव्य राख्नुभएको थियो ।