दोलखा । किशोर दहालको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
बिहीबार चरिकोटमा सम्पन्न १४ औं जिल्ला अधिवेशनको बन्दसत्रले दहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको खुल्ला उपाध्यक्ष कुमार गुरुङ, महिला उपाध्यक्ष पम्फामाया श्रेष्ठ, सचिव भरत केसी, सह–सचिव अम्बिका कुमारी कार्की, कोषाध्यक्ष प्रदिप कुमार सुवेदी, सह–कोषाध्यक्ष गीता बस्नेत रहनु भएको छ ।
अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा रणकाजी तामाङ र राधा बस्नेतलाई चयन गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधिको रुपमा कुमार जिरेल, सुन्दर पाण्डे, यज्ञराज खतिवडा, उमेश शिवाकोटी, बालकृष्ण मल्ल ठकुरी, सुरेश गेलाल, विदुर सापकोटा, अल्पना खड्का, उर्मिला थापा, सरिता खड्का र कविता भुजेल चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सञ्चारमन्त्री पार्वत गुरुङले बधाई तथा शुभकामना दिनुहुँदै वर्तमान शिक्षा प्रणालीलाई सुधारेर लैजानेतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । नयाँ पुस्तालाई समाज चिनाउँदै संस्कार सिकाउने खालको शिक्षा दिन आवश्यक रहेको पुर्वमन्त्री गुरुङको भनाई छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारी, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बधाई तथा शुभकामना मन्तव्य दिनुहुँदै अब्बल ढङ्गबाट शिक्षण गरेर पेशागत उत्कृष्टता प्रदर्शन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।