दोलखा । भीमेश्वर नगरपालिकाका करिब १ हजार ५ सय किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाईने भएको छ ।
पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीहरुका लागि शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले नगरभित्रका १ हजार ४ सय ८१ किशोरीलाई दिन लागिएको जानकारी दिनुभयो । सरकारको एचपिभि खोप अभियान २०८१ अनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिन लागिएको हो ।
माघ २२ देखि २८ गतेसम्म विभिन्न मितिमा २९ ओटा विद्यालय र ८ ओटा स्वास्थ्य संस्था गरी ३७ ओटा खोप केन्द्रमार्फत खोप दिन लागिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख इश्वर नारायण मानन्धरले महिला सशक्तिकरणमा कमी भएका कारण महिलाहरुले आफ्ना समस्या बाहिर नल्याउँदा महिलामा प्रजनन् स्वास्थ्य सम्बन्धि रोगहरु विकराल रुपमा बढेको बताउनुभयो । नगर प्रमुख मानन्धरले यस्तो समस्यालाई न्युनीकरणका लागि जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरु एक जुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेलले कतिपय ग्रामीण क्षेत्रमा खोपको बारेमा पर्याप्त तथ्यगत जानकारीहरु नपुगेको भन्दै स्वास्थ्यकर्मीहरुले यसबारे गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष जिरेलले प्रचारप्रसार लगायत मिडियाले खेल्नुपर्ने भूमिकाका लागि नेपाल पत्रकार महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सरकारको सरकारको एचपिभि खोप अभियान २०८१, यसको आवश्यकता र अभियान सफल बनाउन सरोकारवालाको भूमिकाबारे जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका खोप फोकल पर्सन पवन भाटले जानकारी गराउनुभएको छ । उहाँका अनुसार माघ २२ देखि २८ सम्म दोलखाका ६ हजार ५ सय २० जना छात्रा तथा किशोरीहरुलाई यो खोप दिईँदै छ ।