दोलखा । ‘विद्यार्थीसँग जनप्रतिनिधि’ विषयक सवाल जवाफ कार्यक्रम शनिबार चरिकोटमा सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिकाको समन्वयमा ग्लोबल ह्याण्ड्स नेपालले आयोजना गरेको कार्यक्रममा भीमेश्वर नगरपालिकाभित्र माध्यामिक तहमा अध्ययनरत करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सवाल जवाफ कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा भोग्नुपरेका विभिन्न किसिमका समस्या, सरकारको लगानी अनुसार प्रतिफल नदेखिनुका कारण, विद्यालय नर्सको भूमिका, गुणस्तरहीन सेनेटरी प्याड वितरण, शिक्षणमा प्रविधिको कम प्रयोग लगायतका विषयमा प्रश्न गरेका छन् ।
कार्यक्रममा विद्यार्थीले उठाएका प्रश्नहरुको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, शिक्षा शाखा प्रमुख अर्जुन कार्की, स्वास्थ्य शाखा प्रमुख धन बहादुर गुरुङ, शिक्षा विकास तथा समन्वय इकाई प्रतिनिधि निर्मला पाण्डे, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक शत्रुघन कुमार महतो, प्याब्सन दोलखाका अध्यक्ष जगत बहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु श्रेष्ठ, कालिञ्चोक माध्यामिक विद्यालय चरिकोटका प्रधानाध्यापक शम्भु गौतम लगायतले जवाफ दिनुभएको छ ।
कार्यक्रमको उद्घाटनसत्रमा नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाका अध्यक्ष किशोर दाहाल, भीमेश्वर नगर अध्यक्ष अञ्जना सुवेदी, ग्लोबल ह्याण्ड्स नेपालका सचिव रामचन्द्र केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । संस्थाका अध्यक्ष राजकुमार ढुङ्गेलको अध्यक्षतामा भएको सवालजवाफ कार्यक्रम भिलेज खबरका सम्पादक तारा बहादुर महतले सहजीकरण गर्नुभएको हो ।