दोलखा । तामाकोशी गाउँपालिका वडा नम्बर–७ हाँवास्थित कालिका माध्यामिक विद्यालयले आफ्नो स्वर्णजयन्ती विशेष कार्यक्रमको तयारीलाई तीव्रता दिएको जनाएको छ ।
विद्यालय स्थापनाको ५० औं बर्ष पूरा भएको अवसरमा फागुन ५ गते सङ्घीय सरकारका शिक्षामन्त्री विद्या भट्टराईले स्वर्णजयन्ती समारोहको उद्घाटन् गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक भरत मुखियाले जानकारी दिनुभयो । उद्घाटनको दिन विद्यालयको स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण तथा सिन्धुली कलाघरको विशेष साङ्गितिक प्रस्तुती साथै सम्मान कार्यक्रम रहने छ ।
स्वर्णजयन्ती विशेष कार्यक्रम अन्तरगत फागुन ६ गते पालिकास्तरीय विज्ञान प्रदर्शनी, हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम तथा स्थानीय कलाकारहरुको साङ्गितिक प्रस्तुती हुनेछ । फागुन ७ र ८ गते अन्तरपालिका स्तरीय भेट्रान तथा तामाकोशी गाउँपालिकाभित्रको वडास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेछ । फागुन ९ गते खेल समापन, पुरस्कार वितरणसहित स्वर्णजयन्ती विशेष कार्यक्रम समापन गर्ने कार्यतालिका रहेको छ ।
स्वर्णजयन्ती विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको प्रधानाध्यापक मुखियाले बताउनुभयो । २०३१ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा २ सय १९ जना विद्यार्थी अध्ययनरत छन् ।
५० लाखको अक्षयकोष निर्माण अभियान
स्वर्णजयन्तीको अवसरमा विद्यालयले अक्षयकोष निर्माण तथा स्वर्णजयन्ती समारोह व्यवस्थापनका लागि आर्थिक सहयोग सङ्कलन गर्ने कार्य जारी राखेको छ । हालसम्म करिब ५० लाख रुपैयाँ रकम जम्मा भईसकेको विद्यालयले जनाएको छ । सङ्कलित रकममध्येबाट ५० लाख रुपैयाँको अक्षय कोष निर्माण तथा बाँकी रकम स्वर्णजयन्ती समारोह व्यवस्थापनमा खर्च गरिने भएको छ ।
अक्षय कोषबाट उच्च शिक्षामा छात्रवृत्ति, गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति, शिक्षक तथा विद्यार्थीको क्षमता अभिबृद्धि लगायत शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने कार्यक्रम गर्ने विद्यालयको योजना रहेको छ ।