दोलखा । तामाकोशी गाउँपालिका वडा नम्बर–७ हाँवास्थित कालिका माध्यामिक विद्यालयको स्वर्णजयन्ती विशेष कार्यक्रमको सोमबार शुभारम्भ भएको छ ।
विद्यालय स्थापनाको ५० बर्ष पूरा भएको अवसरमा आयोजित स्वर्णजयन्ती विशेष कार्यक्रमको सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्नुहुँदै मन्त्री दाहालले गुणस्तरीय शिक्षाका लागि पूर्वाधार पनि एउटा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुहुँदै यसतर्फ आफ्नो मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
एक अर्को सन्दर्भमा मन्त्री दाहालले भारत र चिनलाई जोड्ने सबैभन्दा छोटो भिट्टामोडदेखि लामाबगरको फलाक नाकासम्मको सडक निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफूले शनिबार लामाबगर पुगेर स्थलगत अवलोकन गरिसकेको उल्लेख गर्दै उक्त नाका जोड्न आफ्नो मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा कालिका स्वर्ण स्मारक अनावरण, कालिका स्वर्ण स्मारिका विमोचन तथा विद्यालय स्थापनादेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा विद्यालयका संस्थापक झपट बहादुर सुनुवार, संस्थापक प्रधानाध्यापक मेघराज केसी, संस्थापक शिक्षक चन्द्र सुनुवार, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु गोपालसिंह सुनुवार, खुस बहादुर सुनुवार, खगेन्द्र सुनुवार, वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कुमार सुनुवार, वर्तमान प्रधानाध्यापक भरत मुखिया लगायत रहनुभएको छ ।
कार्यक्रममा पुर्व सञ्चार मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली काङ्ग्रेस दोलखाका सभापति वर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कुमार सुनुवार, प्रधानाध्यापक भरत मुखिया लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा स्थानीय सुनुवार र शेर्पा जातिको झाँकी तथा सिन्धुली कलाघर र गायक शिव मुखियाको साङ्गितिक प्रस्तुती रहेको थियो । सोमबारदेखि सुरु भएको स्वर्णजयन्ती विशेष कार्यक्रम फागुन ९ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।