दोलखा । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालाहरुले नौ बुँदे साझा प्रतिबद्धतासहितको धारणा सार्वजनिक गरेका छन् ।
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार चरिकोटमा आयोजित ‘दोलखाको सहकारी क्षेत्रको सुदृढीकरणमा स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा साझा प्रतिबद्धता गरिएको हो । जसमा कानुन बमोजिम सहकारी सञ्चालन गर्ने, सहकारीको सुशासन परीक्षण गर्ने, सहकारीको अवस्थाबारे श्वेतपत्र जारी गर्ने, दोहोरो सदस्यता हटाउने, ऋण असुलीमा स्थानीय सरकारले सघाउने लगायतका बुँदाहरु उल्लेख गरिएको छ ।
कार्यक्रममा दोलखाको सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे सहकारीका व्यवस्थापकहरुको मञ्च दोलखाका अध्यक्ष दिपक बस्नेत र भीमेश्वर नगरपालिकाको सहकारी शाखाका वरिष्ठ शाखा अधिकृत नारायण प्रसाद सेढाँईले कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका उपप्रमुख दोर्जी शेर्पा, भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बागमती प्रदेश सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भूमिराज खड्का लगायतले सहकारी क्षेत्रको समसामयिक विषयमा धारणा राखेका छन् ।
दिवसको अवसर पारेर जिल्ला समन्वय समिति दोलखा र जिल्ला सहकारी सङ्घ दोलखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
साझा प्रतिबद्धता पत्र