दोलखा । आईतबारदेखि चरिकोटमा हुने दोलखा स्ट्रिट फुड फेस्टिवल–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था दोलखा चेम्बर अफ कमर्सले जनाएको छ ।
नयाँ बर्ष २०८२ को अवसर पारेर ‘सडकमै खाऔं, सडकमै रमाऔंः रैथाने स्वाद र संस्कृतिसँगै नयाँ बर्ष चरिकोटमा मनाऔं’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजङ्ग बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार विहान ११ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यक्रम उद्घाटन गर्नुहुनेछ ।
कार्यक्रममा रैथाने परिकारसहितका २० भन्दा धेरै स्टलहरु रहने भएका छन् । बैशाख २ गतेसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन दोलखाको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमसहित नयाँ बर्ष साँझ कार्यक्रम हुनेछ । नयाँ बर्षलाई स्वागत गर्ने नयाँ बर्षसाँझ साङ्गितिक कार्यक्रममा चर्चित गायिका आस्था राउत, गायक कमल खत्री लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
दोश्रो दिन अर्थात बैशाख १ गते लोक गीत सङ्गितको चर्चित टेलिभिजन कार्यक्रम इन्द्रणीको टिमको आकर्षक प्रस्तुती रहनेछ भने तेश्रो दिन बैशाख २ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गितिक प्रस्तुतीसहित कार्यक्रम समापन गर्ने कार्यतालिका रहेको छ ।
नयाँ बर्षमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकसहित स्थानीयहरुलाई केन्द्रीत गरेर तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने अर्को आयोजक संस्था दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम अवधिका लागि चरिकोटका होटलमा खाना तथा बासको शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ ।
कार्यक्रमको अवसर पारेर चरिकोटको सातदोबाटोदेखि बिच बजारसम्मको क्षेत्रमा विशेष सजावट गरिएको छ । औपचारिक उद्घाटनसहित साङगितिक कार्यक्रमका लागि पशु सेवा कार्यालयनजिकै मञ्चको व्यवस्थापन गरिएको छ ।