दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर–६ घ्यावापानीकी उमा भुजेल पहिले सामान्य खेतीपाती र घर व्यवहारमै सीमित हुनुहुन्थ्यो । घरखेतीबाट घरायसी समस्याहरु टार्दै आएपनि आफूलाई आवश्यक पर्दा पैसाको कारोबारका लागि श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो । २०६९/०७० मा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुलाई उद्यमी तथा प्रशिक्षक बनाउनका लागि ढाका बुनाई सम्बन्धी तालिम दियो । उमा पनि तालिममा सहभागि भएर ढाका बुन्न सिकेपछि समूहमा ढाका उद्योग सञ्चालन गरेर उत्पादित कपडाहरु बिक्री वितरण गरी नियमित आम्दानी गर्न थाल्नुभयो ।
समूहमा ढाका उद्योग सञ्चालन गरेका धेरै साथीहरुले अन्य पेशा व्यवसाय रोजेपनि उमाले भने ढाका बुनाईलाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँले ढाकाबाट साडी, पछ्यौरा, सल, रुमाल, गलबन्दी लगायतका सामाग्री उत्पादन गर्दै आउनुभएको छ । केहि बर्ष अगाडि आफूले बुनेका साडी लगायतका केहि उत्पादनहरु अमेरिकामा समेत बिक्री गरेको उमा बताउनुहुन्छ । तालिम मात्र होईन ढाका बुनाईका लागि आवश्यक पर्ने धागो लगायतका कच्चा पदार्थ जुटाउन सहुलियत ब्याजदरमा ऋणस्वरुप आवश्यक रकम उपलब्ध गराउनुको साथै उत्पादिन ढाकाका सल र रुमाल नै सहकारीले खरिद गरिदिंदा आफूलाई काम गर्न थप हौसला मिलेको उमाको भनाई छ ।
“ढाका बुनाईको काम गर्न मेहनत त अवश्य पनि गर्नैपर्छ । कतिपयले गाह्रो भयो भनेर पनि छोड्नुभयो । आखिर सजिलो त के छ र ! खाना खानेबेला पनि त मुख पोल्न सक्छ, अनि खाना नै नखाने त ?”, उमाले भन्नुभयो । बजारमा अहिले विभिन्न खालका हेर्दा आकर्षक देखिने कपडाहरु सस्तो मुल्यमा भेटिने गरेकोले हातले बुनेका ढाकाका कपडा महङ्गो लाग्नु स्वभाविक हो तर हातले बुनेका सामग्रीहरु धेरै गुणस्तरीय हुने भएकोले गुणस्तर बुझेकाहरुले बुनेको ढाका नै प्रयोग गर्ने गरेको उमाको अनुभव छ ।

भूजेलले बुनेका ढाकाका कपडाहरु ।
२० वर्ष भन्दा लामो समयदेखि हाम्रो जनकल्याण सहकारीमा बचतकर्ताको रुपमा रहनुभएकी उमा ढाका बुनाईको तालिम लिएर काम गर्न थालेदेखि भने सहकारीमा राम्रै बचत गरेर हरेका आर्थिक समस्या सहकारीबाटै समाधान गर्दै आउनुभएको छ । उमाका अन्य उत्पादनसँगै खासगरी ढाकाको खादा खरिद गरेर हरेक औपचारिक कार्यक्रम तथा कार्यालयमा आउने अतिथिहरुलाई सोहि खादा लगाएर स्वागत सत्कार गर्ने गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत बताउनुहुन्छ । अतिथिहरुलाई स्वागत गर्दा प्रयोग हुने आयातित तथा फेरि प्रयोग नहुने चिजहरुको विस्थापन गरी सदस्यको उत्पादनलाई प्रबर्द्धन गर्ने संस्थाको लक्ष्य रहेको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका कुमार बयलकोटीले करिब २ दशक अगाडि छालाको जुत्ता बनाउने तालिम लिने अवसर पाउनुभयो । तालिम लिएपछि चरिकोट बजारमा छाला जुत्ता उद्योग सञ्चालन गर्नुभयो । जुत्ता बनाउने आफू एक्लो जनशक्ति हुनु र उद्योगमा लगानीका लागि आर्थिक स्रोत पर्याप्त नभएपछि उद्योग बन्द गरेर उहाँ वैदेशिक रोजगारीमा जानुभयो ।
केहि बर्ष वैदेशिक रोजगारमा बिताएपछि केहि वैदेशिक रोजगारबाट पनि खासै आर्थिक उन्नति हुने छाँटकाँट देख्नुभएन । नेपाल फर्केपछि आफूले बचत गर्दै आएको हाम्रो जनकल्याण सहकारीमा जानुभयो । सहकारीबाट केहि रकम ऋण लिनुभयो । जम्माजम्मी २ लाख रुपैयाँको सुरुवाती लगानीले २०७१ सालबाट चरिकोट बिचबजारमा गौरीशङ्कर छाला जुत्ता उद्योग सञ्चालन गर्दै आउनुभएको छ । छाला जुत्ता उद्योगबाट विगतका वर्षहरुमा वार्षिक १०/१२ लाख रुपैयाँ आम्दानी हुने गरेकोमा अहिले भने बजारको अवस्थाले करिब ५० प्रतिशत कम आम्दानी भईरहेको कुमारको भनाई छ ।

बयलकोटीले सञ्चालन गरेको छाला जुत्ता उद्योगको बिक्री पसल ।
वैदेशिक रोजगारीमा जाने र सहरमा बसाई सर्नेहरुको संख्या धेरै हुँदा चरिकोट जस्तो सानो बजारमा उपभोक्ता घटेपछि अहिले राम्रो बजार नभएकोले आम्दानी घटेको हुन सक्ने कुमारको विश्लेषण छ । उपभोक्ताको संख्या घट्दै जानु तर प्रतिस्पर्धा भने बढ्दै गएपनि सस्तो मुल्यमा नै जुत्ता बिक्री गर्ने गरेको उहाँको भनाई छ । उत्पादनमा तय गरिएको मुल्यमा सामान्य ग्राहकलाई ५ प्रतिशत छुट दिने गरेकोमा हाम्रो जनकल्याण सहकारीका बचतकर्तालाई १५ प्रतिशतसम्मको छुट दिने समझदारी सहकारी र उद्योग बीच गरिएको छ । छालाका उत्पादनहरुलाई आकर्षक बनाउनका लागि सहकारीले मेशिनमा समेत केही आर्थिक सहयोग गरेको थियो । बजारीकरणमा सहयोग गर्नका लागि साधारण सभाहरुमा निःशुल्क रुपमा स्टलको व्यवस्थासहित उद्योगबाट कार्यक्रम स्थलसम्म ल्याउने लैजाने व्यवस्था पनि सहकारीले गरिदिन्छ । अझै बजारीकरणमा नयाँ आयामको प्रयोग गरेर स्थानीय उत्पादनको प्रबर्द्धन गर्न सकिने कुमार बताउनुहुन्छ ।
एकातिर सहकारीले लगानी गरेर कुमारलाई उद्यमी बनायो । स्थानीय स्तरमा उत्पादनमूलक उद्योग सञ्चालन भएपछि सुपथ मुल्यमा उपभोक्ताले विभिन्न खालका छालाका जुत्ता उपभोग गर्न पाए । अर्कातिर उद्यमी कुमारले आफू र आफ्ना परिवारका केहि सदस्यसहित अन्य दुई जनालाई रोजगारी समेत प्रदान गर्नुभएको छ । जसले गर्दा सहकारीले उद्यमीलाई सहयोग गर्दा उद्योग स्थापनासँगै रोजगारी समेत सिर्जना भएको छ । जसको माध्यमबाट धेरै व्यक्तिहरुलाई प्रत्यक्ष लाभ मिलेको छ ।
हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा उद्यमशीलतामा जोडिनुभएका अर्का शेयर सदस्य हुनुहुन्छ, भीमेश्वर नगरपालिका –२ का अरुण श्रेष्ठ । भीमेश्वर मन्दिर परिसरमा पूजा सामाग्रीको व्यापार गर्दै आउनुभएका श्रेष्ठ खेर जाने मकैको खोस्टाबाट विभिन्न सजावटका सामाग्रीहरु निर्माण गर्नुहुन्छ । १ दशक भन्दा लामो समयदेखि हाम्रो जनकल्याण सहकारीमा बचत गर्दै आउनुभएका श्रेष्ठ सहकारीले नै सञ्चालन गरेको तालिम लिएर सजावटका सामाग्री बनाउन सक्ने भएको बताउनुहुन्छ ।
श्रेष्ठले खोस्टाबाट कोठा तथा कार्यालयमा सजाउन मिल्ने रङ्गी चङ्गी फूल र ह्याट किरिङ लगायतका सामाग्री निर्माण गरेर बिक्री गर्दै आउनुभएको छ । केही समय अगाडिदेखि यस्ता सामाग्री बनाउँदै आएकोमा सजावटका लागि होटलहरुले लिने गरेको र अझै थप बजारीकरणका लागि संस्थाले भूमिका निर्वाह गरिदिए सहयोग पुग्ने श्रेष्ठको अपेक्षा छ ।
श्रेष्ठलाई सुरुमा व्यवसाय गर्न पैसा आवश्यक पर्यो । पैसा त सहकारीमा पाईन्छ भन्ने पनि थाहा भयो तर सहकारीमा बचत गर्नुपर्ने अनिवार्य शर्त थियो । उहाँले व्यवसाय चलाउन लगानी जुटाउनकै लागि सहकारीमा बचत गर्न थाल्नुभयो । अहिले भने यसबाट एकातिर व्यवसाय चलाउन सजिलो भएको छ भने अर्कातिर दिनानुदिन आफ्नो बचत रकम पनि बढ्दो क्रममा छ । ऋणले बचत र व्यवसायले आम्दानी बढाउँदै लगेपछि श्रेष्ठ खुसी हुनुहुन्छ ।

श्रेष्ठले बनाएका कागजका फूल लगायतको बिक्री पसल ।
भीमेश्वर मन्दिरमा पूजा सामाग्रीको व्यापार गर्दै आउनुभएका श्रेष्ठ बिक्री नभएका फूल सुकाएर बाटेको धुप बनाउने गर्नुहुन्छ । गत बर्षदेखि भीमेश्वर मन्दिर व्यवस्थापन समितिले पूजामा सिन्केधुप प्रयोग गर्न रोक लगाएपछि स्थानीयले बाटेको धुप बनाएर राम्रो आम्दानी गर्न थालेका छन् । सहकारीले स्थानीय स्तरमा पाईने बाँस तथा निगाँलोबाट पूजा सामाग्री बोक्न मिल्ने ढकिया र प्लाष्टिकको झोलाको सट्टामा कागजको झोला बनाउने तालिम दिएर आवश्यक लगानी सहुलियत ब्याजमा उपलब्ध गराईदिए भीमेश्वर मन्दिरसँगै अन्य धार्मिकस्थलहरुमा वातावरणमैत्री व्यवसाय राम्रोसँग चल्न सक्ने श्रेष्ठ बताउनुहुन्छ ।
अहिले सहकारीका विषयमा विभिन्न खालका टिकाटिप्पणी हुने गरेको भएपनि सहकारी सञ्चालक र बचतकर्ता दुवै ईमानदार भएमा कुनै समस्या नआउने श्रेष्ठको भनाई छ । आफूले पनि सहकारीले तोके बमोजिम कारोबार नियमित गरेकोले सहकारीले पनि मागेकै बेलामा ऋण उपलब्ध गराउने गरेको उहाँको अनुभव रहेको छ ।
सहकारीले कृषि, पशुपालन र पसल सञ्चालन जस्ता उद्यमशील गर्न चाहाने समूह बचतकर्ताहरुलाई समूह जमानीमा प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म ऋण दिने गरेको छ । अन्य ऋणको ब्याज १० देखि १२ प्रतिशतसम्म रहेकोमा उद्यमशीलताका लागि दिईने ऋणको ब्याज वार्षिक ९ प्रतिशत रहेको छ । संस्थामा सदस्य बनेको तथा समूह जमानी बचत गरेको ३ महिनापछि आवश्यक प्रक्रिया पुर्याएर संस्थाले ऋण दिने गरेको संस्थाकी सदस्य सेवा विभाग प्रमुख बिना अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म समूहजमानीमा २२ जना उद्यमीहरुलाई १३ लाख ७४ हजार १ सय ४३ रुपैयाँ ऋण लगानी गरिएको छ ।