रामेछाप । आर्थिक अभावका कारण दोरम्बा गाउँपालिका–५ गुन्सालमा निर्माणाधीन एकीकृत नमुना बस्ती अलपत्र परेको छ । दोरम्बा–५ गुन्सालका ३० घरपरिवारको आवासका लागि स्थानीय सेतीदेवी जनजागृति युवा समाजले थालेको एकीकृत नमुना बस्ती आर्थिक अभाव झेलिरहेको छ । कुल तीन करोड ३२ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो परियोजनाले अहिले आर्थिक अभाव झेलिरहेको छ । भवन निर्माणका लागि आवश्यक पर्ने बजेट संस्थासँग नहुँदा भवनहरू अलपत्र अवस्थामा छन् ।
सम्झौताअनुसारको रकम पाइएन
एकीकृत बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९० लाख, एकीकृत बस्ती विकासको सेवा–सुविधाका लागि एक करोड २० लाख र स्थानीय गाउँपालिकाको कार्यालयमार्फत बस्तीको सुरक्षाका लागि १० लाख रुपैयाँ रकम उपलब्ध गराउने सम्झौता भएको थियो । सेतीदेवी जनजागृति युवा समाजका अध्यक्ष प्रज्वल श्रेष्ठले सम्झौताअनुसारको रकम पाउन नसक्दा निर्माण रोकिएको जानकारी दिए ।
अहिलेसम्म ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम अगाडि बढाउन बजेट अभाव भएको हो । ‘अहिलेसम्म भवन निर्माणको काम ८५ प्रतिशत पूरा गरेका छौँ । बाँकी काम गर्न आर्थिक अभाव भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सबै रकम पाउन सकेको भए हामीले समयमा नै काम सक्ने थियौँ ।’
शौचालय, ढल निर्माण बाँकी
निर्माणाधीन एकीकृत बस्तीको भवनसँगै निर्माण हुनुपर्ने शौचालय, आँगन र ढल व्यवस्थापनको काम अझै बाँकी रहेको छ । संस्थामा बजेट अभाव हुँदा ती काम पूरा हुन सकेको छैन । बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिनुपर्ने १२ लाख र एकीकृत बस्ती विकास सेवा–सुविधाअन्तर्गतको ४० लाख रकम पाउन बाँकी रहेको छ । यी दुवै रकम पाउन सके निर्माणाधीन भवनको काम सम्पन्न हुने र भूकम्प लाभग्राहीलाई हस्तान्तरण गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बजेट अभावमा अलपत्र रहेको एकीकृत बस्तीको बाँकी काम सम्पन्न गर्न स्थानीय गाउँपालिकाले बागमती प्रदेशसँग सहकार्य भइरहेकाले चाँडै रकमको व्यवस्थापन हुने र काम अघि बढ्ने दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । उनले भने, ‘रकम अभावले भवनको काम पूरा हुन सकेको छैन । त्यो काम चाँडै सक्ने गरी गाउँपालिकाले प्रदेश सरकारसँग रकम माग गरेका छौँ । रोकिएको काम चाँडै सकेर भूकम्पपीडितलाई हस्तान्तरण गर्ने गरी पालिकाले काम अघि बढाएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको छ ।