दोलखा । मृत्युपछि मात्रै जीवन बिमा बापतको रकम पाईन्छ भन्ने जीवन बिमाप्रतिको आम धारणालाई पछिल्लो समय बिमा कम्पनीहरुले चिर्न थालेका छन् ।
३५ घातक रोग बिरुद्धको अधिकतम ५० लाखसम्म दाबी भुक्तानी दिने बिमा योजना मार्फत ज्योति लाईफ इन्स्योरेन्सले बिमाप्रतिको धारणा परिवर्तन गर्न थालेको हो । एक बर्षअघि ज्योति लाईफ इन्स्योरेन्समा जीवन बिमा गरेका मकवानपुरको हटियाका रामकुमार राईलाई करिब ६ महिनाअघि क्यान्सर रोग देखिएपछि कम्पनीबाट उपचार खर्च बापत पाँच लाख रुपैँया पाएका छन् ।
चरिकोट शाखाबाट पाँच लाख बराबरको बिमा गरी पहिलो किस्ता बापत २८ हजार ७ सय ९५ रुपैँया तिरेका ३३ बर्षिय राईले बिमा गरेको एक बर्षमै उपचारका लागि पाँच लाख प्राप्त गरेका हुन् । शनिबार चरिकोटमा घातक रोग बिरुद्ध दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी कम्पनीकी एरिया सेल्स मेनेजर अम्बिका तिमल्सिनाले राईलाई पाँच लाख रुपैँया बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै राईले आफूले बिमा गरे बापत उपचार खर्च दिएकोमा ज्योति लाईफलाई धन्यवाद दिँदै समयमै बिमा गरेर आफू र आफ्नो परिवारको जीवन सुरक्षा गर्न आग्रह गरेका छन् ।
चरिकोटमा व्यावसाय गर्दै आउनुभएका राईको आन्द्रामा क्यान्सर देखिएको मेडिकल रिर्पोटसहित आवश्यक कागजात पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिएको ज्योति लाईफ इन्स्योरेन्स चरिकोट शाखाका प्रबन्धक चुडाबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
क्यान्सर, मुटु रोग, पार्किन्सन, ब्रन ट्युमर लगायतका ३५ घातक रोग बिरुद्ध अधिकतम ५० लाख रुपैँयासम्म उपचार खर्च दिने ज्योति लाईफ इन्स्योरेन्स पहिलो जीवन बिमा कम्पनी हो । हाल नेपालमा १९ वटा जीवन बिमा कम्पनी संचालित छन् ।
शनिबारबाट कम्पनीको नयाँ बिमा योजना ईजी पे चरिकोट शाखामा समेत शुभराम्भ भएको छ । नयाँ योजनाका बारेमा शाखाका कर्मचारी लगायत बिमा अभिकर्ताहरुलाई अभिमुखीकरण कक्षा समेत संचालन गरिएको छ ।