दोलखा । बुधबारबाट देशभर शुरु भएको पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दोलखामा डेढ सय भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
कोरोना संक्रमणको जोखिममा रहेका लक्षित वर्गमा पर्ने १ सय ५५ जनालाई कोरोना विरुद्धको खोप लगाईएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जसमध्ये चरिकोट अस्पतालमा १ सय ३१ र जिरी अस्पतालमा २४ जनाले खोप लगाएका हुन् । खोप लगाउनेहरुमा ८७ जना स्वास्थ्यकर्मी, ३९ जना महिला स्वास्थ्य स्वयम्सेविका, १७ जना सफाईकर्मी, ९ जना स्वास्थ्य संस्थाका कर्मचारी, २ जना सवारी चालक र १ जना सुरक्षाकर्मी रहेका कार्यालयले जनाएको छ ।
दोलखामा चरिकोट अस्पताल, चरिकोट र जिरी अस्पताल, जिरी गरी दुई वटा खोप केन्द्र तोकिएका छन् । जसमध्ये चरिकोट अस्पतालबाट माघ १४ र १५ गते भीमेश्वर नगरपालिका, १६ गते शैलुङ, १७ गते तामाकोशी, १८ गते मेलुङ, १९ गते कालिञ्चोक, २० गते विगु र २१ गते कालिञ्चोक गाउँपालिकाका लक्षित वर्गलाई खोप प्रदान गरीने छ । त्यस्तै जिरी अस्पतालबाट माघ १४ र १५ गते जिरी नगरपालिका तथा १६ र १७ गते बैतेश्वर गाउँपालिकाका लक्षित वर्गलाई खोप प्रदान गरीने कार्यतालिका रहेको छ ।
तोकिएको मितिमा खोप लगाउन छुटेकाहरुलाई जिरी अस्पतालमा माघ १८ र १९ गते तथा चरिकोट अस्पतालमा २२ र २३ गते खोप लगाउने तयारी रहेको छ । पहिलो चरणको खोप अभियानबाट दोलखाका २ हजार १ सय ४० जना लाभान्वित हुने भएका छन् । जसमध्ये ७ सय ७७ जना स्वास्थ्यकर्मी, १ हजार २ सय ५५ जना महिला स्वास्थ्य स्वयम्सेविका, ५२ जना सफाईकर्मी र ५६ जना सुरक्षाकर्मी रहेका छन् ।
सरकारले सफाईकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई पहिलो चरणको खोप लगाउने लक्ष्य लिएको छ । खोप अभियान १० दिनसम्म संचालन हुनेछ ।