दोलखा । पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत छैटौं दिन सोमबार दोलखामा झण्डै एक सय जना व्यक्तिले खोप लगाएका छन् ।
कोरोना संक्रमणको जोखिममा रहेका लक्षित वर्गमा पर्ने ९६ जनालाई कोरोना विरुद्धको खोप लगाईएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । जसमध्ये चरिकोट अस्पतालमा ९३ र जिरी अस्पतालमा ३ जनाले खोप लगाएका हुन् । खोप लगाउनेहरुमा २१ जना स्वास्थ्यकर्मी, ६९ जना महिला स्वास्थ्य स्वयम्सेविका, ४ जना सफाईकर्मी, २ जना सवारी चालक रहेका छन् ।
दोलखामा चरिकोट अस्पताल, चरिकोट र जिरी अस्पताल, जिरी गरी दुई वटा खोप केन्द्र तोकिएका छन् । दुई वटा खोप केन्द्रबाट सोमबारसम्म ९ सय ८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यसैबिच चरिकोट अस्पतालबाट माघ २० गते विगु र २१ गते कालिञ्चोक गाउँपालिकाका लक्षित वर्गलाई खोप प्रदान गरीने छ । त्यस्तै जिरी अस्पतालमा भने जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाका लक्षित वर्गलाई खोप प्रदान गरीने कार्यतालिका सोमबारबाट सकिएको छ ।
तोकिएको मितिमा खोप लगाउन छुटेकाहरुलाई जिरी अस्पतालमा आईतबार र सोमबार खोप लगाईएको छ भने चरिकोट अस्पतालमा २२ र २३ गते खोप लगाउने तयारी रहेको छ । पहिलो चरणको खोप अभियानबाट दोलखाका २ हजार १ सय ४० जना लक्षित वर्गमा परेकोमा हालसम्म ४६ प्रतिशतले खोप लगाएका छन् ।
सरकारले सफाईकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई पहिलो चरणको खोप लगाउने लक्ष्य लिएको छ । खोप अभियान १० दिनसम्म संचालन हुनेछ ।