दोलखा । पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत सातौं दिन मंगलबार दोलखामा एक सय भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
कोरोना संक्रमणको जोखिममा रहेका लक्षित वर्गमा पर्ने १ सय १८ जनालाई कोरोना विरुद्धको खोप लगाईएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । लक्षित वर्गमा परेका १ सय १८ जनाले चरिकोट अस्पतालमा खोप लगाएका हुन् । खोप लगाउनेहरुमा २४ जना स्वास्थ्यकर्मी, ८५ जना महिला स्वास्थ्य स्वयम्सेविका ९ जना कर्मचारी रहेका छन् ।
दोलखामा चरिकोट अस्पताल, चरिकोट र जिरी अस्पताल, जिरी गरी दुई वटा खोप केन्द्र तोकिएकामा पुर्व निर्धारित कार्यतालिका अनुसार जिरी अस्पतालमा खोप सेवा मंगलबारबाट बन्द भएको छ । दुई वटा खोप केन्द्रबाट मंगलबारसम्म १ हजार १ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यसैबिच चरिकोट अस्पतालबाट बुधबार कालिञ्चोक गाउँपालिकाका लक्षित वर्गलाई खोप प्रदान गर्ने कार्यतालिका छ ।
तोकिएको मितिमा खोप लगाउन छुटेकाहरुलाई जिरी अस्पतालमा सोमबारसम्म खोप लगाईसकिएको छ भने चरिकोट अस्पतालमा २२ र २३ गते खोप लगाउने तयारी रहेको छ । पहिलो चरणको खोप अभियानबाट दोलखाका २ हजार १ सय ४० जना लक्षित वर्गमा परेकोमा हालसम्म ५१ प्रतिशतले खोप लगाएका छन् ।
सरकारले सफाईकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई पहिलो चरणको खोप लगाउने लक्ष्य लिएको छ । खोप अभियान १० दिनसम्म संचालन हुनेछ ।