दोलखा । स्थानीय नागरिकले निःशुल्क दिएको जग्गा गाउँपालिकाको नाममा ल्याउन नसक्दा तामाकोशी गाउँपालिकामा पर्यटय क्षेत्रको पूर्वाधार निमार्णमा ढिलाई भएको छ ।
पर्यटकिय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निमार्ण गर्न भन्दै वडा नम्बर ६ गुफ्लेको घोरनागीमा स्थानीय दर्जन बढी घरपरिवारले दिएको जग्गा एक बर्ष बितिसक्दा पनि गाउँपालिकाले आफ्नो नाममा पास गराउन सकेको छैन् । गत बर्षको माघ ११ गते गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष उर्मिला खड्कासहित वडा अध्यक्ष झनकबहादुर खत्रीको रोहबरमा स्थानीय चन्द्र फुयाँल लगायत दर्जन बढी जग्गाधनीहरुले ३३ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिदिने लिखित प्रतिबद्धता जनाएका थिए ।
भौगोलिक रुपमा पालिकाको केन्द्रविन्दुको रुपमा रहेको घोरनागीमा भ्यु टावर, पोखरी र वनभोजस्थल निमार्ण गरी आन्तरिक पर्यटक भित्र्याउने पालिकाले लक्ष्य लिएको छ । समयमै जग्गा पालिकाको नाममा ल्याउन नसक्दा चालु आर्थिक बर्षमा पोखरी निमार्ण गर्न भनी बजेट विनियोजन गरी उपभोक्ता समिति गठन र लागत स्टिमेट भईसक्दा पनि काम शुरु हुन सकेको छैन् ।
यस्तो छ जग्गा पास गर्न ढिलाई हुनुको कारण
कोभिड–१९ को संक्रमण जोखिमका कारण गत बर्ष चैत्र ११ गतेदेखि देशमा लकडाउन भएपछि काम गर्न ढिलाई भएको वडा नं ६ वडा अध्यक्ष झनकबहादुर फुयाँलको भनाई छ । “जग्गा पास गर्नका लागि सबै जग्गाधनी जानुपर्ने र कोरोना संक्रमणको जोखिमका कारण भिडभाड गर्न नमिल्ने भएकोले लकडाउनको समयमा पास गर्न जान सकिएन, अहिले दु्रत गतिका साथ काम भईरहेको छ, वडा अध्यक्ष फुयाँलले भन्नुभयो ।”
धेरै जनाको जग्गा भएकोले पास गर्नका लागि सबै जग्गाधनीको उपस्थित गराउन समय मिलाउने काम भईरहेको वडा अध्यक्ष फूयाँलले बताउनुभयो । जग्गादाताले विभिन्न सर्तसहित जग्गा दान सम्बन्धि कागजपत्र बनाएपछि निसर्त दान गर्नुपर्ने व्यवस्था भएको भन्दै पालिकाबाट कागजात फिर्ता भएको र कागजात सच्याएर छिटोभन्दा छिटो पालिकाको नाममा जग्गा पास गरेर विकास निमार्णको कामलाई तिव्रता दिने वडा अध्यक्ष फूयाँलको भनाई रहेको छ ।
गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले जग्गा व्यवस्थापन सम्बन्धि काम वडा अध्यक्षले गरीरहेको भएपनि आफूहरुले समन्वय गर्नुपर्ने बेलामा आफू तयार रहेको बताउनुभयो । पालिकाभित्रको एउटा आकर्षक गन्तव्य घोरनागी रहेको भन्दै अध्यक्ष पोखरेलले जग्गा पास भएपछि आफ्नै कार्यकालमा पर्यटन पूर्वाधारको शुरुवात गर्न आफू आतुर रहेको अध्यक्ष पोखरेलको भनाई छ ।
घोरनागीबाट दोलखाका पर्यटकिय स्थलहरु शैलुङ, कालिञ्चोक, खरिढुङ्गा, चरिकोट, तामाकोशी नदी, खिम्ती खोला, रामेछापको ताँमेडाँडा तथा नुम्बुर हिमाल लगायतको दृश्यावलोकन गर्न सकिन्छ ।