काठमाण्डौं । पत्रकार आचारसंहिता विपरित हुनेगरी केहि छापा तथा अनलाईन सञ्चार माध्यमले रक्सीको विज्ञापन गरेको भन्दै प्रेस काउन्सिल नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञापनमा ‘मनाऔं होली रमेर.....जहाँ भएपनि’, ‘होलीको शुभकामना’, ‘ह्याप्पी होली’, जस्ता शब्द तथा वाक्यहरुको प्रयोग गरेर रक्सीजन्य पदार्थको विज्ञापन गरेकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको हो । प्रेस काउन्सिल नेपालको दैनिक स्वअनुगमनबाट होलीको पूर्वसन्ध्यामा मादक पदार्थ (रक्सी) सेवनमा प्रोत्साहित गर्ने खालका शब्द तथा वाक्यको प्रयोग गरेर विज्ञापन प्रकाशन गरेकोमा तत्काल सच्याउन निर्देशन दिएको छ । काउन्सिलका प्रवक्ता दिपक खनालले शुक्रबार विज्ञप्ती जारी गरेर काउन्सिलको निर्देशन विपरित मादक पदार्थ (रक्सी) सेवनमा प्रोत्साहित गर्ने खालका शब्द तथा वाक्यको प्रयोग गरेर विज्ञापन प्रकाशनलाई निरन्तरता दिएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिनुभएको छ ।
केहि दिनदेखि गोरखापत्र, कान्तिपुर, राजधानी, नयाँ पत्रिका, दि हिमालयन, दि काठमाण्डौं पोष्ट, अन्नपूर्ण पोष्ट, नेपाल समाचार पत्र लगायतका छापा तथा अनलाईन खबर, इ–कान्तिपुर लगायतका अनलाईनमा मदिरा सेवन गर्न उत्प्रेरित गर्ने खालका शब्दावली प्रयोग गरेर विज्ञापन छापेको भेटिएको काउन्सिलले जनाएको छ ।
होली जस्ता विभिन्न चाडपर्वसँग मदिरालाई जोडेर मदिरा सेवन गर्न उत्प्रेरित गर्ने खालका भाषा शैलीको प्रयोग गरेर मदिरा उत्पादन एवम् विज्ञापन तथा प्रचारप्रसार नगर्न नगराउन सम्पूर्ण सञ्चार माध्यम, नेपाल विज्ञापन संघ, विज्ञापन एजेन्सी लगायत सम्बन्धित पक्षलाई प्रस काउन्सिलले आग्रह गरेको छ ।
यस्तो छ प्रेस काउन्सिलले जारी गरेको विज्ञप्ती
