काठमाण्डौं । नेपाल पत्रकार महासंघले आसन्न निर्वाचनका लागि अन्तिम मतदाता नामावली शुक्रबार राति सार्वजनिक गरेको छ ।
यसअघि चैत्र ११ गते अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको भएपनि निर्वाचन समितिले आवश्यक छानविन गर्न नभ्याएपछि निर्वाचन कार्यतालिका नै हेरफेर गरेको थियो । निर्वाचन समितिले सातवटै प्रदेश, उपत्यका प्रदेश, एसोसिएट प्रदेशतर्फको अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।
सार्वजनिक भएको नामावली अनुसार बागमति प्रदेशबाट १ हजार ३ सय ३२ जनाले मतदान गर्न पाउने भएका छन् । जसमध्ये सबैभन्दा बढी मतदाता चितवनमा ३ सय ७ जना र सबैभन्दा कम रसुवामा ४६ जना मतदाता रहेका छन् । त्यसैगरी नुवाकोटमा १ सय ७४, मकवानपुरमा १ सय ६४, धादिङमा १ सय ५३, काभ्रेमा १ सय २५ जना मतदाता रहेका छन् । साथै दोलखामा १ सय १२, सिन्धुपाल्चोकमा ९७, रामेछापमा ७७ तथा सिन्धुलीमा ७७ जना मतदाताले मतदान गर्न पाउनेछन् । काठमाण्डौं उपत्यकामा पर्ने बागमति प्रदेशका तीन जिल्लालाई भने उपत्यका प्रदेश कायम गरिएको छ । उपत्यका प्रदेशमा भने २ हजार १ सय १८ जनाले मतदान गर्न पाउने भएका छन् ।
बागमति प्रदेश समितिमा एउटा पदका लागि दुईजना मात्र उम्मेद्वार कायम भएको खण्डमा र सबै मतदाताले मतदान गरेमा निर्वाचित हुनका लागि कम्तीमा ६ सय ६७ मत प्राप्त गर्नुपर्ने देखिएको छ । केन्द्रिय समितिका लागि शनिबार विहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
यसपालीदेखि केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा सबै साधारण सदस्यले आ–आफ्नो जिल्लाबाटै मतदान गर्न पाउने व्यवस्था गरेकोले पनि अन्तिम मतदाता नामावलीलाई महत्वकासाथ प्रतिक्षा गरिएको थियो । तीनै तहको लागि यहि चैत्र २५ गते देशभर एकै पटक निर्वाचन हुने कार्यतालिका रहेको छ ।
बागमति प्रदेशको अन्तिम मतदाता नामावली हेर्न यहाँ क्लिक गर्नुहोस ।