नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राख्नुभएको छ । बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुभएको समाचार पत्रकार बविता शर्माले ईकान्तिपुर डटकममा लेख्नुभएको छ ।
राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिईएको थियो । स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैतभित्र उल्लेख थियो। सोही प्रतिवेदनलाई परिमार्जित गरी दुवै अध्यक्षको तर्फबाट दाहालले केन्द्रीय समितिमा उक्त मितिसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उक्त राजनीतिक प्रतिवेदनमा महाधिवेशन अगाडि देशव्यापी अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । उक्त अभियान आगामी फागुन १ देखि सुरु भएर असार मसान्तमा सम्पन्न गर्नुपर्ने योजना अध्यक्षद्वयले केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको छ ।
आगामी फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय समितिहरूले बैठक बसेर अभियानको कार्ययोजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठनहरू केन्द्र, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला आयोजना गरी अभियान सम्बन्धी अन्य कार्यक्रम सञ्चालन गर्ने, चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशन अनुरुप सदस्यता नवीकरण सम्पन्न गर्नुपर्ने, जेठ मसान्तसम्म घरदैलो, पदयात्रा र टोलभेला तथा सभाको आयोजना गर्नुपर्ने र असार महिनामा स्थानीय तहहरूमा जनसभा गर्नुपर्ने अध्यक्षद्वयको प्रतिवेदनमा छ।
प्रतिवेदन अनुसार आगामी साउन दोस्रो हप्ता जिल्ला नेकपाका समितिले आ(आफ्नो जिल्लाको अभियान समिक्षा गर्ने र प्रतिवेदन तयार गरी प्रदेश समितिमा पठाउनु पर्ने कार्यतालिका तय गरिएको छ।
साउन महिनाको तेस्रो हप्ता प्रदेश समितिले आआफनो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउनुपर्ने प्रतिवेदनमा लेखिएको छ। साउन महिनाको चौथो हप्ता केन्द्रीय समितिले मुलुकभर सञ्चालन गरेको अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने कार्यसूची प्रतिवेदनमा छ।
अध्यक्षद्वयले केन्द्रीय समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा मुलुकभर सञ्चालन गर्ने अभियानको नारा पनि लेखिएको छ । उक्त नारा समृद्ध नेपाल, सुखी नेपालीको आधार सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार रहेको छ ।
उक्त नारा लिएर जनतामाझ जाने नेकपाको अभियानको नेतृत्व केन्द्रीय सचिवालय, प्रदेश र जिल्ला समितिहरूले गर्ने प्रतिवेदनमा उल्लेख छ ।
तस्विरःईकान्तिपुर डटकम