काठमाण्डौं । एक लगानशील, मेहनती र कर्मजीवी युवा पत्रकारका रुपमा परिचित संगम महत आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।
महत अहिले नेपाल टेलिभिजनमा दैनिक प्रशारण हुँदै आएको ‘न्यूज लाईन’ र साप्ताहिक रुपमा प्रशारण हुँदै आएको ‘सुशासन सवाल’ कार्यक्रमका निर्माता तथा प्रस्तोता छन् । श्रमजीवी र कर्मजीवीका रुपमा १५ वर्षदेखी विभिन्न सञ्चार माध्यममा काम गरिरहेका महतले यसअघि एपी वान (AP1 HD) टेलिभिजनमा समाचार वाचक र कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका थिए । एपी वान एच डी (AP1 HD) टेलिभिजनमा रहँदा २०७४ मा भएको स्थानीय तहको निर्वाचन र संघीय निर्वाचनका समयमा फिल्डमै खटिएर उनले गरेको रिर्पोटिङ टेलिभिजन इतिहाँसमा महत्वपूर्ण र सम्झनलायक थियो ।
पूर्व मेची देखी पश्चिम महाकाली र हिमाल देखी तराईसम्म आफ्नो प्रशारण समाग्री मार्फत पुग्न सफल महतले नेपाल एफ एम नेटवर्कमा (Nepal FM Network) करिव ४ वर्ष काम गरेका थिए । नेपाल एफ एम नेटवर्क मार्फत देशभरका रेडियोसँगै स्रोताको घर–घरमा सूचना र सन्देश प्रवाह गर्ने महत यसअघि कपिलवस्तुलाई केन्द्रमा राखेर रेडियो बुद्ध आवाज मार्फत पत्रकारीता गर्दथे । भारतसँग सिमा जोडिएको बहुसंख्यक थारु, मुस्लिम, दलित र पछाडी पारिएको समुदायलाई मुलधारमा ल्याउन उनले रेडियो बुद्ध आवाजको प्रशारण मार्फत काम गरेका थिए । महिला, सिमान्तकृत समुदाय, स्वास्थ्य र शैक्षिक क्षेत्रलाई माथि उठाउन कपिलवस्तुमा रेडियोको माध्यमबाट महत र रेडियो बुद्ध आवाजले खेलेको भूमिकाको अहिले पनि चर्चा हुने गरेको छ । यसैबीचमा प्रशारणबाट प्रकाशन पत्रकारीतामा उनले अर्घाखाँचीबाट प्रकाशन हुने अर्घाखाँची टाईम्स साप्ताहिकको सम्पादकका रुपमा करिव २ वर्ष काम गरेको अनुभव संगालेका छन् ।
गुल्मीबाट उच्च शिक्षाका लागि बुटवल झरेका महतलाई सानैदेखी रेडियो नेपालमा बोल्ने तिव्र इच्छा थियो । यही इच्छा पुरा गर्न काठमाण्डौ बाहिरको पहिलो ठूलो सामुदायिक रेडियो ‘रेडियो लुम्बिनी’ मार्फत आफ्नो पत्रकारीताको यात्रा सुरु गरे । तत्कालिन समयमा रेडियो लुम्बिनीबाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘शुभ रात्री’ मार्फत बुटवल र आसपासका जिल्लामा उनले आफुलाई स्थापित गरेक थिए ।
यसैबीचमा केही समय महतले रुपन्देहीको बुटवलमा रहेको बुद्ध टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका थिए । बुद्ध टेलिभिजनमा उनले ‘जस्ताको तस्तै’ कार्यक्रम निर्माण तथा प्रशारण गरेसँगै समाजमा धेरै कुरामा सुधार आएको थियो । जहाँ जे कमिकमजोरी देखिन्छ त्यही विषयलाई आफ्नो सामग्री बनाएर प्रसारण गर्ने महतको कार्यक्रम तत्कालिन समयको एक चर्चित कार्यक्रम थियो ।
नेपालका धेरै रेडियोको स्थापना र सञ्चालनका क्रममा आयोजना हुने पत्रकारिता तथा उद्घोषण तालिमको सहजीकरण गरेका महत एक कुशल प्रशिक्षक तथा सहजकर्ता समेत हुन् ।
रेडियो पत्रकारिता मार्फत आफ्नो गौरवमय पहिचान बनाएका महत आफ्ना संघर्षका दिन सम्झँदै भन्छन, “पत्रकारिता मेरो लगाव हो । लगावमा लाग्दा मैले धेरै पटक भोकै सुतेको अनुभव मसँग छ । धेरै पटक घण्टौं हिडेर खाजा, खाना बिना नै काम गरेका सम्झनालायक क्षणहरु पनि छन् ।” संघर्ष, प्रतिबद्धता र अठोटले पत्रकारितामा उठ्दै गरेको एक जुझारु युवा पत्रकारका रुपमा रहेका महतले पत्रकारीतामा एम.ए सम्मको अध्ययन गरेका छन् । उनी अहिले विभिन्न कलेजहरुमा अतिथी लेक्चरका रुपमा काम गर्दै आएका छन् । पत्रकारिताको अध्ययन र अनुभव बटुल्ने क्रममा महत संयुक्त राज्य अमेरीका, थाईल्याण्ड, भारत लगायतका देशमा पुगेका छन् । अमेरीकाका करिव ८ वटा राज्यमा पुगेर नेपालको पत्रकारिता र अमेरिकी सँस्कृति एंव संरक्षणको अभियानलाई कसरी जोड्न महत अहिले पनि आफ्नो खोज अनुसन्धान र अध्ययनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको बताउँछन् ।
अहिले पत्रकार महासंघको निर्वाचनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यका रुपमा उम्मेदवार बनेका छन् । महतले महासंघलाई प्रतिवद्ध व्यवसायिक श्रमजीवीहरुको साझा संस्थाका रुपमा अगाडि बढाउने बताएका छन् । पत्रकारीतामा संलग्नता मात्र नभई अध्ययन र अनुभव प्राप्त नेतृत्वले मात्र पत्रकारका मुद्धाको उठान, उडान र उचाई नाप्न सक्ने भएकोले विहानदेखी साँझैसम्म कर्मजीवीहरुको साझा संस्थाका रुपमा महासंघलाई अगाडि बढाउनुपर्ने महतको भनाई छ । नेपाल पत्रकार महासंघको निर्वाचनमा खुल्ला केन्द्रीय सदस्यका उम्मेद्वार महतको उम्मेद्वार क्रम संख्या २५ रहेको छ ।