दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाको नयाँ नेतृत्वका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियनको नेतृत्वमा रहेको संयुक्त गठबन्धनबिच प्रतिस्पर्धा हुने भएको छ ।
आईतबार दुई वटा प्यानलले उम्मेद्वारहरुको मनोनयन दर्ता गरेपछि नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल र नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन नेपालको नेतृत्वमा रहेको संयुक्त गठबन्धनबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो । प्रेस चौतारी नेपालको तर्फबाट केदार शिवाकोटी तथा गठबन्धनको तर्फबाट दीपशंकर चौँलागाँईले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ ।
प्रेस चौतारी नेपालको तर्फबाट उपाध्यक्षमा शेरबहादुर भूजेल, महिला उपाध्यक्षमा मन्दिरा थापा, सचिवमा निर्मला शिवाकोटी (विनिता), सहसचिवमा बिमला बुढाथोकी, समावेशी सहसचिवमा उषा तामाङ र कोषाध्यक्षमा गायत्री आचार्यले उम्मेद्वारी दिनुभएको छ । त्यस्तै गठबन्धनको तर्फबाट उपाध्यक्षमा श्रीजन घिमिरे, महिला उपाध्यक्षमा सीर्जना थापा, सचिवमा दिलबहादुर के.सी, सहसचिवमा बलराम शिवाकोटी, समावेशी सहसचिवमा फुर्वा तामाङ र कोषाध्यक्षमा नविन खतिवडाको उम्मेद्वारी परेको छ ।
खुल्ला सदस्यमा तारा बहादुर महत, पुष्कर महत, मुना गुरुङ, दिपक बस्नेत, रामचन्द्र खड्का र तुलसी मानन्धरले प्रेस चौतारीबाट उम्मेद्वारी दिनुभएको छ । गठबन्धनको तर्फबाट खुल्ला सदस्यमा रविन्द्र गौतम, गोकर्ण भण्डारी, शुसान्त कार्की, गौतम जिरेल, केदार दहाल र बलराम केसीको उम्मेद्वारी परेको छ ।
महिला सदस्यमा प्रस चौतारीबाट ईश्वरी दाहाल र गठबन्धनबाट दुर्गा बस्नेत, आदिवासी जनजाति सदस्यमा प्रेस चौतारीबाट कैलाश लामा र गठबन्धनबाट गोपिलाल लामाविच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी अन्य समावेशी सदस्यमा प्रेस चौतारीबाट महेन्द्र श्रेष्ठ र गठबन्धनबाट सुन्तली थामीबिच प्रतिस्पर्धा हुने भएको छ ।
केन्द्रिय परिषद सदस्यमा प्रेस चौतारीबाट निता राउत, शर्मिला बुढाथोकी र जानुका न्यौपाने तथा संयुक्त गठबन्धनबाट शिवकुमार भूजेल, लक्ष्मी बस्नेत र सुवास योञ्जनको उम्मेद्वारी परेको छ । त्यसैगरी प्रदेश परिषद सदस्यमा प्रेस चौतारीबाट जगदिश शिवाकोटी, शान्तबहादुर जिरेल, अर्जुन दाहाल, रामचन्द्र गिरी, कोपिला काफ्ले, अर्जुन गौतम र कुमार जिरलले उम्मेद्वारी दिनुभएको छ । गठबन्धनबाट प्रदेश परिषद सदस्यमा लालकुमार मोक्तान, उपेन्द्र प्रधान, सीर्जना गोले, शिवजी प्रधान, बलराम खड्का र डम्बर चौँलागाँईको उम्मेद्वारी परेको छ ।
विभिन्न पत्रकार संगठनहरुविच सर्वसम्मत नेतृत्व चयन गर्न लामो गृहकार्य भएको भएपनि अन्ततः दुई प्यानल निर्वाचनमा होमिन पुगेका छन् । केन्द्र तथा प्रदेशमा नेपाली काङ्ग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर, नेकपा एमाले निकट प्रेस चौतारी नेपालको माधव नेपाल समूह लगायतका ११ वटा संगठनबिच संयुक्त गठबन्धन भएपछि त्यसैको असर जिल्ला तहसम्म पनि देखिएको छ ।
दोलखामा प्रेस चौतारी नेपाल सबैभन्दा बलियो देखिएपछि अरु सबै संगठनको गठबन्धन बनेको छ । व्यावसायिक र श्रमजिवी पत्रकारहरुलाई उम्मेद्वार बनाएको भन्दै प्रेस चौतारी नेपालको एक्लो प्यानलले निर्वाचनमा जित हाँसिल गर्ने प्रेस चौतारी नेपाल दोलखाका संयोजक प्रभू जिरेलले दाबी गर्नुभयो ।
यहि चैत्र २५ गते हुने निर्वाचनमा दोलखाका १ सय १२ जना सदस्यले मतदान गर्न पाउने छन् । नेपाल पत्रकार महासंघ दोलखाको ईतिहाँसमा दोश्रो पटक निर्वाचन हुन लागेको हो । यसअघि अधिकांश समयमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको थियो ।