काठमाण्डौं । सरकारले कोरोनाबाट अति प्रभावित १४ जिल्लामा भिडभाड हुने खालका कुनैपनि गतिविधिमा संलग्न नहुन अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरिय बैठकले काठमाण्डौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङ जिल्लाहरुमा हुने भिडभाडजन्य गतिविधिमा उपस्थिीका लागि रोक लगाएको हो । विद्यालय, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, जात्रा तथा सार्वजनिक पूजा, पार्टी प्यालेस, स्वीमिङ पुलमा सहभागि नहुन तथा जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
बैठकले सबै अस्पताललाई फिवर क्लिनिक सञ्चालन तथा नमूना संकलन र परिक्षण गर्ने व्यवस्था गर्न भनेको छ । त्यस्तै सरकारी अस्पतालहरुले कम्तीमा ५० प्रतिशत बेडहरु कोभिड संक्रमितको लागि छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गर्नुपर्ने छ ।
होटल तथा रेष्टुरेण्टहरुमा बसोबासका लागि आउने विदेशी नागरिकको तथ्याङ्क दुरुस्त राख्नुको साथै पिसिआर परिक्षणको रिर्पोट नेगेटिभ भएको अवस्थामा मात्रै बास राख्न मन्त्रालयले अपिल गरेको छ ।