काठमाण्डौं । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौं महानगरपालिका–९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका कर्मचारीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका–७ का ४५ बर्षिय प्रकाश भन्ने चित्र बहादुर रायमाझी, सप्तरी राजविराज नगरपालिका–१३ का ३२ बर्षिय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका–१ का ५० बर्षिय प्रदिप कुमार गिरी रहेका छन् ।
त्यसैगरी महोत्तरी सोनाम गाउँपालिका–६ का २५ बर्षिय अमन कुमार यादव, मोरङ विराटनगर महानगरपालिका–३ का ३२ बर्षिय वजेश पोख्रेल, महोत्तरी गौशाला नगरपालिका–१ का २२ बर्षिय बादल मिरिङ छिङ, दोलखा बैतेश्वर गाउँपालिका–५ का २२ बर्षिय सरोज क्षेत्री र सप्तरी मध्यपुरा गाउँपालिका–१ का ४४ बर्षिय डा. खेलानन्द प्रसाद रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिई स्वाबको नमूना समेत नलिई १/२ घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
मेरिट मल्टी केयरका एजेन्टहरूले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरको मिलेमतोमा स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाई दिने गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
सुरिया हेल्थकेयरबाट ४ थान नक्कली परीक्षण रिपोर्ट तथा कम्प्युटर लगायतका उपकरण समेत बरामद गरी थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर हाललाई बन्द गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।