दोलखा । कोरोना संक्रमण जोखिमका कारण दोलखाका धार्मिकस्थल बन्द गर्नेदेखि ‘खोई माक्स’ अभियानसम्म सञ्चालन हुने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) दोलखाको बुधबार बसेको बैठकले बैशाख ६ गतेको संघिय सरकार मन्त्री परिषद् बैठकको निर्णय बमोजिमका गतिविधिमा बैशाख मसान्तसम्म रोक लगाउनुको साथै आवश्यक अनुगमन गर्ने निर्णय गरेको हो । बैठकले बैशाख ११ गतेदेखि दोलखा भीमसेन, कालिञ्चोक भगवति लगायतका दर्शनार्थीहरुको भिडभाड हुने जिल्लाका मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतमा बैशाख मसान्तसम्म स्वास्थ्यका मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने निर्णय गरेको छ ।
काठमाण्डौं लगायत बाहिरी जिल्लाबाट दोलखा प्रवेश गर्ने नाका खरिढुङ्गा र किर्नेमा हेल्थ डेक्स स्थापना गरी सम्बन्धित स्थानीय तहले स्वास्थ्य कार्यालयसँगको समन्वयमा स्वास्थ्य जाँच गर्नुको साथै अभिलेख राखिने भएको छ । कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको एन्टीजेन परिक्षण गरी नतिजा पोजेटिभ देखिएमा पिसिआर परिक्षणका लागि पठाउने र हरेक स्थानीय तहमा कम्तीमा एउटा क्वारेन्टाईन तयारी अवस्थामा राखिने भएको छ ।
त्यस्तै यसअघि चरिकोट अस्पताल माताहतमा रहेको आईसोलेसन सेन्टरलाई साविकझै सञ्चालन ल्याउन एकिकृत कोष परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । जिल्लामा विद्यालय तथा कलेजका पूर्वनिर्धारित परिक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुने भएका छन् भने शैक्षिक संस्थाहरुमा स्वास्थ्य मापदण्ड अपनाएर मात्र शैक्षिक गतिविधि सञ्चालन गर्न पाईने छ । शैक्षिक क्षेत्रमा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने जिम्मेवारी भने शिक्षा विकास तथा समन्वय ईकाईलाई दिईएको छ ।
स्वास्थ्य मापदण्डको पालना गराउने सन्दर्भमा बिहीबारदेखि एक हप्तासम्म जिल्लाका स्थानीय तह, कार्यालय, संघ संस्था र सरोकारवाला निकायको सहभागितामा ‘खोई माक्स’ अभियान सञ्चालन हुने भएको छ । अभियानले जिल्लाभर माक्स प्रयोग सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्ने र त्यसपछि पनि माक्सको प्रयोग नगर्नेलाई कानुन बमोजिम कारबाही हुने भएको छ ।
यस्ता छन् बैठकका निर्णयहरुः