दोलखा । जिल्लास्तरिय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबारबाट पर्यटकिय नगरी जिरीमा शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना तथा जिरी माविको व्यवस्थापनमा जिरी माविको प्राङ्गणमा शुरु भएको प्रतियोगिताको बागमति प्रदेश सभा सांसद पशुपति चौँलागाँईले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा छात्र छात्रा भलिबल, लङजम्प, हाईजम्प, त्रिपल जम्प तथा १००, २००, ४०० र ८०० मिटर दौड लगायतका खेलकुद सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रोहितचन्द्र खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा भीमेश्वर र जिरी नगरपालिका तथा अन्य छ वटा गाउँपालिकाबाट गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा शैलुङ गाउँपालिकाले भने सहभागिता जनाएको छैन् । पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका उत्कृष्ठ खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिताका विजेता खेलाडीहरुले बागमति प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि हुने अवसर पाउने जिल्ला खेलकुद विकास समिति अध्यक्ष खड्काले बताउनुभयो ।
सरकारले कोरोना संक्रमणको जोखिमका कारण सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी मानिसहरुको जमघट गर्न नपाउने मापदण्ड लागू गरेपछि दर्शकबिनै प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष खड्काको भनाई छ ।
आईतबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी उपविजेता र तेश्रो हुने टिमले क्रमश १५ हजार, १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।