काठमाण्डौं । मंगलबार बेलुकासम्म काठमाण्डौं उपत्यकासहित बागमति प्रदेशका आठ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि काठमाण्डौं उपत्यकाका तीनसहित पाँच जिल्लामा जिल्लाभर तथा तीन जिल्लाका आंशिक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । जिल्लाभर निषेधाज्ञा लागू भएका जिल्लाहरुमा काठमाण्डौं, ललितपूर, भक्तपूर, चितवन र नुवाकोट रहेका छन् । त्यस्तै काभ्रे, रामेछाप र मकवानपुरका आंशिक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा काठमाण्डौंमा भने बैशाख २९ गतेसम्म थप गरिएको छ । चितवनमा बैशाख १६ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने नुवाकोटमा बैशाख २१ गतेदेखि २७ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी भएको छ ।
आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमध्ये काभ्रेमा मुख्य सडक क्षेत्रको आसपास तथा पर्यटकिय क्षेत्र परिसरमा बैशाख १९ गतेदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै मकवानपुरका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्र तथा मनहरी गाउँपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको ५००÷५०० मिटर दायाँबाँया निषेधाज्ञा जारी गरिएको हो ।
त्यसैगरी बैशाख २० गतेदेखि २७ गतेसम्म रामेछापका मन्थली नगरपालिकाका मन्थली बजार, करमबोट, ठूली मदै, कुनौरी, सेलेघाट, मुगीटार, गाईखुरा, देवीटार, पोखरी तथा गोकुलगंगा गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबारसम्म देशभरका ४० जिल्लामा जिल्लाभर र ११ जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।