काठमाण्डौं । राजनितिक लगायत सबै विषयलाई छोडेर कोरोना संक्रमणको महामारी नियन्त्रणमा गम्भिरतापूर्वक लाग्न सरोकारवाला निकायलाई नेपाल चिकित्सक संघले अपिल गरेको छ ।
संघले बुधबार एक अपिल जारी गर्दै कोरोनाको पहिलो लहरदेखि नै महामारी रोकथाम तथा उपचारका लागि सरकारलाई गरिएको आग्रहको समयमै पर्याप्त सुनुवाई नहुँदा अहिले नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रमुख प्रतिपक्ष दल तथा सम्पूर्ण राजनितिक, नागरिक समाज लगायतलाई सम्बोधन गर्दै जारी गरिएको अपिलमा भनिएको छ, “ अस्पताल आएका बिरामीलाई फर्काउन परेको, बचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिण्डर अक्सिजन नपाएर आँखै अगाडि मर्नु परेको, परिवारले बचाउनका लागि गरेको अनुनय विनय, अक्सिजन र शैया भन्दै गरेको हारगुहारको हृदयविदारक दृष्यले हाम्रो भोक निन्द्रा सबै लगेको छ ।”
संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालले हस्ताक्षर गर्नुभएको अपिलमा मिडियामा समाचार हेर्दा जनताको वेदना भन्दा अन्य विषय नै प्राथमिकतामा परेको देख्दा आफूहरुको खटाईप्रति नै मन खिन्न भएको उल्लेख छ । नेतृत्वदायी भूमिकामा रहेकाहरुको लागि जनताको जीवन भन्दा ठूलो कुरा अरु केहि हुन सक्छ भनेर संघले सरोकारवाला निकायलाई प्रश्न समेत गरेको छ ।
आफूहरु हिम्मतका साथ आफ्नो पेशागत धर्ममा लागि रहने भन्दै अब केहि महिनाका लागि राजनितिक जोडघटाउ र अन्य प्राथमिकतालाई छोडेर चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नका साथै जनताको जीवन रक्षाका लागि सबै पक्ष एक भएर हातेमालो गर्दै अगाडि बढ्न सके महामारी विरुद्धको लडाँइ जित्न सकिने संघको विश्वास छ ।
संघले देशमा कोरोना संक्रमणको महामारीको हालको अवस्था गम्भिर मोडमा पुगेको निश्कर्षसहित रेड अलर्ट घोषणा गर्दै सबै पक्षलाई आ–आफ्नो ठाउँबाट महामारी नियन्त्रणका लागि पहल कदमी गर्न अपिल गरेको छ ।
यस्तो छ संघले जारी गरेको अपिल पत्र