यज्ञराज ढुंगेल
तिमीलाई के लेखौं ? के भनेर श्रद्धाञ्जली अर्पण गरौं ? आज मेरो मस्तिष्कले कुनै काम गरेको छैन । यो सपना हो वा विपना, केहि थाहा छैन ।
हिजो राती १०ः३० बजे एक्कासी फोन आयो । तिम्रो बारेमा अपत्यारिलो खबर लिएर, मैले पत्याउन सकिन । एक्कासी म असन्तुलित भएँ । मलाई धैर्यधारण गर्ने क्षमता रहेन, तै पनि श्रद्धाञ्जलीका दुई शब्द लेखेर फेसबुकमा पोष्ट गर्न खोजें । आँखामा आँसु भरिएर त्यो पनि लेख्न कठिन भयो । त्यस बेला तिमीलाई श्रद्धाञ्जली दिन कुनै शब्दको प्रयोग गर्न मन लागेन । केवल अलबिदा भनेर पोष्ट गरिदिएँ । त्यस बेला मलाई कति कठिन भयो त्यसको बयान गर्न सक्तिन ।
तिमी मलाई बाल्यकालमा काका भन्थ्यौ । त्यस बेला पनि हाम्रो सम्बन्ध सारै नजिक थियो । पछि म तिम्रो हेड सर हुन पुगें । त्यस बेलादेखि हाम्रो सम्बन्ध झन प्रगाढ भयो । तिमी अत्यन्त लगनशील र जेहेन्दार विद्यार्थी, जहिले पनि पहिलो हुने । पहिलो हुने विद्यार्थी र हेड माष्टरको सम्बन्ध कति गहिरो हुन्छ त्यो त सबैलाई थाहा भएकै कुरा हो । तिमी मेरो असल विद्यार्थीको नाताले मेरो मन मस्तिष्कमा बास गर्न थाल्यौं । हरेक पल म तिमीलाई सम्झिन थालेँ ।
मसँगै शिक्षक भएर पढाउन थालेपछि मेरो पहिलो रोजाईको शिक्षक पनि तिमी नै भयौ । पेशाप्रतिको वफादारिता, कार्य कुशलता, इमान्दारिता एकै मानिसमा पाउन प्राय सम्भव हुँदैन तर तिमीमा थियो ।
शिक्षण पेशा छोडेर तिमी राजनीतितिर लाग्यौ । त्यस बखत मलाई सारै एक्लो महसुुस भएको थियो । तर राजनीतिमा तिम्रो उचाई बढ्दै जाँदा मैले तिमीलाईसँगै पाउन थालेँ । तिम्रो राजनीतिक उचाइ बढ्दै गयो, जसरी शुक्लपक्षको चन्द्रमा प्रत्येक दिन बढ्दै जान्छ । राजनीतिमा तिम्रो प्रगतिले मेरो शिर ठाडो हुन्थ्यो, गर्व लाग्दथ्यो । गाउँ जिल्ला र राष्ट्रसम्म तिम्रो कीर्ति फैलियो । खुट्टा तानातान र तिकडमको राजनीतिभित्र पनि तिम्रो शालिन र इमान्दार छवि चम्किरह्यो । तिम्रो बारेमा कसैले औँला ठड्याउने आँट गर्न सकेन । किनकि तिम्रो लगनशीलता र इमान्दारिता कवचको रुपमा थियो ।
तिमी मेरा छोराहरुसँग भन्थ्यौ रे, “म तिमीहरूका बुबाले तालिम दिएको मानिस हुँ, मबाट बेइमानी र भ्रष्टाचार कहिल्यै हुँदैन ।” तिमीले आफ्नो बाचा पुरा गरेर विदा भयौ । राजनीतिक नेताहरुमा हुनुपर्ने असल गुणहरुको पहिचान गराएर गयौ । तर तिमीले गर्नुपर्ने थुप्रै कामहरु अलपत्र परे । आधा उमेरमा यो संसार छोड्दा तिम्रो जीवनका इच्छा र आकांक्षाहरु अधुरै रहे । जस्को कारण परिवार, समाज र देशले ठूलो क्षति व्यहोर्नु पर्नेछ ।
तिमीले केटाकेटीदेखि गर्दै आएको राजनीति आज क्षतविक्षत भएको छ । राजनीतिक मुल्य र मान्यताहरु चक्नाचुर भएका छन् । सिद्धान्तले व्यक्तिवादसँग हारेको छ । अब देश कता जान्छ भन्ने कसैलाई थाहा छैन । यहि बेथितिले पनि तिम्रो प्राण पखेरु लिन घर गरेको हो कि भन्ने पनि लाग्दछ । जे होस आफ्नै घरमा आगो लगाउने आत्मघाती र अनैतिक काम गर्नबाट तिमी जोगियौ । यो तिम्रो अहोभाग्य हो भन्ने ठानेको छु ।
तिमी र हामीले खोलेको गाँउको सहकारी, क्याम्पस र स्कूलहरु अभिभावकविहीन हुन पुगेका छन् । जिल्ला, प्रदेश र राष्ट्र नै शोकाकुल भएको छ । सामजिक संजाल तिम्रै शोक समाचारले भरिएको छ । हरेक मानिसहरु तिम्रो सम्झनामा रोइरहेका छन् । तिम्रो परिवार मात्र होइन हामी सबै टुहुरा, निसहाय बनेका छौं ।
मलाई कुनै समस्या पर्दा सबभन्दा पहिले तिम्रो सम्झना आउँथ्यो । तिम्रो भरोसाले मेरा कष्टहरु पर भाग्दथे । आज मेरो आड खुस्किएको छ, अब त्यो जग बसाल्न कसैले सामथ्र्य राख्ने सम्भावना देख्दिन ।
तिमी यो संसारलाई छोडेर गएपनि मेरो हृदयमा तिमी रहिरहने छौ ।
भविष्यमा पनि मेरो पहिलो रोजाइको व्यक्ति तिमी नै रहिरहने छौ ।
तिम्रो आत्माले चिर शान्ति पाओस् ।
हार्दिक श्रद्धाञ्जलि !
साभारः यज्ञराज ढुंगेलको फेसबुक वाल
(ढुंगेल सहकारी अभियान्ता तथा बुद्धिजिवीको रुपमा चिनिनुहुन्छ)