दोलखा । तामाकोशी गाउँपालिका जिल्लामा भीमेश्वर नगरपालिकापछि कोरोना संक्रमणको जोखिम दोश्रो स्थानमा रहेको पाईएको छ ।
स्वास्थ्य कार्यालय दोलखाले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिहीबार एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टी भएपछि तथ्याङ्कगत हिसाबले तामाकोशी गाउँपालिका पनि संक्रमणको जोखिममा रहेको पाईएको हो । बिहीबारसम्म भीमेश्वर नगरपालिकामा १ सय २७ जना संक्रमित रहेको छन् भने तामाकोशी गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
बिहीबार तामाकोशी गाउँपालिकाका ४४ जनाको स्वाब परिक्षण गरिएकोमा ३४ जनामा संक्रमण पुष्टी भएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले जानकारी दिनुभयो । संक्रमितको सम्पर्कका आएका ४ जना र अन्य शंकास्पद ४० जना गरी ४४ जनाको स्वाब परिक्षण गरिएको हो । संक्रमितको सम्पर्कका आएका चारै जनामा संक्रमण नदेखिएको र शंकास्पद ४० जनामध्ये ३४ जनामा संक्रमण भेटिएको संयोजक मिश्रको भनाई छ ।
नयाँ संक्रमितमध्ये एउटै परिवारका तीनसहित २५ जना गाउँपालिकाको वडा नम्बर ५ शहरेका रहेका छन् । त्यसैगरी वडा नम्बर ७ हाँवाका ७ जना र वडा नम्बर २ झुलेका २ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै तामाकोशी गाउँपालिकामा कुल संक्रमितको संख्या ५५ रहेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा ५४ जना संक्रमित देखिए पनि १ जना काठमाण्डौंमै संक्रमण पुष्टी भएर गाउँपालिकामा आएर आईसोलेसनमा बसेकोले कुल संक्रमितको संख्या ५५ भएको स्वास्थ्य संयोजक मिश्रले बताउनुभयो ।
संक्रमितहरुमध्ये वडा नम्बर १ भिरकोटका २ महिला र २ पुरुष गरी ४ जना, वडा नम्बर २ झुलेका ३ पुरुष, वडा नम्बर ३ जफेका १ महिला र ४ पुरुष गरी ५ जना र वडा नम्बर ४ मालुका २ महिला रहेका छन् । त्यसैगरी वडा नम्बर ५ शहरेका १३ महिला र १४ पुरुष गरी २७ जना, वडा नम्बर ६ च्यामाका ५ महिला र २ पुरुष गरी ७ जना तथा वडा नम्बर ७ हाँवाका २ महिला र ५ पुरुष गरी ७ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये ३ जनाको मालूमा रहेको कोभिड अस्थायी अस्पताल र एकजनाको धुलिखेल अस्पताल धुलिखेलमा उपचार भईरहेको र अन्य ५१ जना होम आईसोलेसनमा रहेका छन् । होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने भिटामिन लगायत लक्षण अनुसारको अन्य औषधिहरु घर घरमै स्वास्थ्यकर्मी पुगेर प्रदान गरिएको संयोजक मिश्रको भनाई छ ।