दोलखा । जिल्लामा कोरोना संक्रमण बढ्न थालेपछि शुक्रबार राति १२ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।
शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले यसअघि बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयअवधि जेठ १५ गतेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
मानिसको जमघट हुने खालका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, पुस्तकालय, शैलुन, ब्युटीपार्लर आदि बन्द गर्न आदेश जारी गरिएको छ । विवाह, ब्रतबन्ध, कुलपूजा लगायत धार्मिक तथा साँस्कृतिक क्रियाकलापमा पूर्णरुपमा बन्देज लगाईएको छ । निषेधाज्ञाको समयमा निजी तथा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाईएको छ । अत्यावश्यक सामाग्री ढुवानी र बिरामी बोकेका एम्बुलेन्स साथै स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक कुनै पनि यातायातका साधन जिल्लामा सञ्चालन गर्न नपाईने भएको छ ।
अत्यावश्यक खाद्य सामाग्री, फलफूल पसल विहान ७ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाईने छ । सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागबाट जारी गरिएको परिचयपत्रका आधारमा सूचना संकलन र सम्प्रेषण गर्न आवातजावत गर्न पाईने भएको छ । जिल्लास्थित बैंक तथा वित्तिय संस्था र सहकारी आईतबार र बिहीबार हप्तामा दुई दिन मात्र बैंकिङ सेवा प्रवाह गर्न पाउने छन् । अत्यावश्यक सेवा दिने सरकारी कार्यालय तथा बैंक, वित्तिय संस्था लगायतले एक चौथाई कर्मचारीको उपस्थितीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा दिनु पर्नेछ ।
काठमाण्डौं उपत्यका र अन्य जिल्लाबाट जिल्लाभित्र बस्ने गरी आउने मानिसहरुले दोलखा प्रवेश गर्दा स्थानीय पालिकाले दिएको स्वीकृतिको प्रमाण पेश गरेर भीमेश्वर नगरपालिका वडा नं ६ सिमपानीमा रहेको होल्डिङ सेन्टरमा बस्नुको साथै १४ दिन क्वारेन्टाईनमा बस्ने गरी पालिकाको जिम्मामा छोडिने भएको छ ।
यस्तो छ प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको आदेश