कर्ण शाक्य
आशाको पर्खाईमा म सुखका क्षणहरू खोज्दै छु ।
यो जुनीमा धेरै देखेँ, काम गरेँ, भोगेँः ७ साल, १७ साल, ३६ साल, ४५ सालको क्रान्ति देखेँ । राजपरिवारको अन्त्य देखेँ, माओवादी आन्दोलन देखेँ । महाभूकम्प भोगेँ अनि अहिले कोरोनाको महाकाल फ़न फ़न घुमिरहेको पनी देखेँ ।
यो जिवन हो । जन्मेर मर्ने बेलासम्म के के हुन्छ हुन्छ । बश आसाका पलहरूमा सुखका क्षण खोजेर जीवनयापन गर्नु नै ठूलो हो । यो बाहेक अर्कों विकल्प छैन् ।
पैसा नै कमाएर धनवान् हुने हैन ।
बाठो भएर बुद्धिमान बन्ने हैन ।
पलमान भएर बलवान हुने हैन ।
जीवनको सार ‘अल्जेब्रा’ को जटिल शुत्रमा हैन, सरल अंकगणितको परिमाणमा खोज्नु पर्छ । यदि हामीले स-सानो कुरामा लुकिरहेको सुख अनुभूत गर्न सक्यौं भने हाम्रो जीवन धनिभुत हुन सक्छ ।
जस्तै-
-भोक लाग्दा, खान पाउंदा ।
-तिर्खा लाग्दा, प्यास मेटाउँदा ।
-दील खोलेर हाँस्न पाउँदा ।
-उकाली चढ्दा, चौतारीमा बस्दा ।
-पहाडबाट उपत्यकाको मनोरम दृष्य हेर्दा ।
-समुद्र किनारबाट सागरको क्षितिज अवलोकन गर्दा ।
-सुनसानमा मौन बस्दा ।
-निःशब्दमा अर्थ खोज्दा ।
-आफैले आफूलाई चिन्दा ।
-रमाई-रमाई काम गर्न पाउँदा ।
-काम गर्दै सुसेली हाल्दा ।
-‘हबी’ र ‘प्यासन’मा चुर्लम्म डुब्दा ।
-आँखा चिम्लेर प्रार्थना गर्दा ।
-खुसीमा आँसु झार्दा ।
-आमा र बुबाको खुट्टा ढोग्दा ।
-छोराछोरीलाई अशिर्वाद दिँदा ।
-नाति पनातीलाई अँगालो मार्दा ।
-श्रीमतीलाई माया गर्दा ।
-बूढीले मलाई ख्यालठट्टा गर्दा ।
-प्रेमिकाको यादमा हराउँदा ।
-मिल्ने साथीसँग गफ गर्दा ।
-अरूलाई केही मद्धत पुर्याउँदा ।
-असहायलाई सक्दो सहयोग गर्दा ।
-आफ्नो योगदानमा कसैले तारिफ़ गर्दा ।
-ठूलाबडाले काँधमा धाँप मार्दा ।
-सुत्नासाथ निद आउँदा ।
-जाडो याममा घाम ताप्दा ।
-गर्मीमा रूख मुनी बस्दा ।
-घर कोठा सफा सुग्घर देख्दा ।
-आफूले पकाएको खाना अरूले आहा ! भन्दा ।
-बाथरूममा गीत गाउँदा ।
-शनिबार दिउँसो सिरक ओडेर सुत्न पाउँदा ।
-अन्डरवेयर, गञ्जी, मोजा दिनहुँ फेर्दा ।
-हेल्थ चेकअपमा सब ठिकठाक हुँदा ।
-शहरको ट्राफिकमा कार पार्क गर्न पाउँदा ।
-भन्ने बेला ट्वाक्क ट्याक्सी पाउँदा ।
-श्रम परिश्रम पसिनाको फल पाउँदा ।
-तिर्नु पर्ने ऋण तिर्दा ।
-अरूको टाउकोमा नटेकी सफलता पाउँदा ।
-आफ्नै घरको छानामुनी जिवन बिताउँदा ।
-आफ्नै करेसाबारीको साग टिप्दा ।
-छोराछोरीलाई राम्रो स्कुल कलेजमा भर्ना गर्दा ।
-सुख्खायाममा धारामा पानी आउँदा ।
-लोडसेडिङमा बत्ती बल्दा ।
-हडतालमा गाडीमा पेट्रोल भर्न पाउँदा ।
-अहिले कोभिडको माहामारीमा ः
ज्वरो नआउँदा
कपाल नदुख्दा
खोकी नआउँदा
जिब्रोले स्वाद पाउँदा
कोरोनाको नेगेटिभ रिपोर्ट आउँदा
आदि इत्यादि सानो-सानो कुराहरूमा खुसीका पलहरू खोजेर सुखको अनुभूती गर्ने हो भने जीवन सुखमय हुन्छ जस्तो लाग्छ । अन्तमा हृदयको खेतमा प्रेमको बिउ रोपेर सुखको वर पीपल उमार्न सकियो भने यो जीवनमा के नै चाहियो र !
(शाक्यको फेसबुक वालबाट साभार, सामान्य भाषा सम्पादनसहित)