दोलखा । मालपोत कार्यालय दोलखामा आईतबारबाट पाम (पब्लिक एक्सेस मोड्युल) प्रणालीबाट सेवा दिन शुरु गरिएको छ ।
मालपोत कार्यालयले दिने सेवाहरुलाई ईन्टरनेटमा आधारित अनलाईन प्रणालीबाट नागरिकको सहज पहुँचमा पु¥याउने उद्धेश्यले पाम प्रणालीबाट सेवा दिन थालिएको मालपोत कार्यालय दोलखाका प्रशासन प्रमुख नायब सुब्बा मुरारी दुलालले जानकारी दिनुभयो । सरकारले आर्थिक बर्ष २०७८/०७९ को श्रावण १ गतेबाट यो प्रणाली लागू गरेको भएपनि दोलखामा भने आईतबारदेखि सेवा दिन थालिएको हो । सेवा शुरु भएको पहिलो दिन आईतबार ५ वटा दृष्टिबन्धकसहित १२ वटा लिखत पारित भएको कार्यालयले जनाएको छ ।
यसअघि लेखापढी व्यवसायीहरुले सहजीकरण गर्दै आएको काम अबदेखि भू–सेवा केन्द्रमार्फत हुने भएको छ । भू–सेवा केन्द्र निर्देशिका २०७६ का आधारमा दर्ता भएका भू–सेवा केन्द्रले सेवाग्राहीहरुलाई सेवा दिन सक्नेछन् । ईन्टरनेटमा आधारित यो प्रणालीमा जग्गा र जग्गाधनीको आवश्यक कागजातको विद्युतीय प्रति अनलाईनबाट अपलोड गर्नुपर्नेछ । अनलाईबाट अपलोड भएका कागजातहरु कार्यालयका सम्बन्धित अधिकारीले हेरेर प्रमाणित गरेपछि आवश्यक प्रक्रियाअघि बढ्ने छ ।
मालपोत कार्यालयबाट भू–सेवा केन्द्र सञ्चालनको प्रमाण पत्र लिँदै मिलीजुली कालिञ्चोक सहकारीका प्रतिनिधि ।
प्रशासन प्रमुख दुलालका अनुसार हाल दोलखामा नौ वटा भू–सेवा केन्द्र रहेका छन् । जसमध्ये तीन वटा सहकारी संस्था, पाँचजना लेखापढी व्यवसायी र एकजना सर्वसाधारण व्यक्तिले भू–सेवा केन्द्र सञ्चालनको अनुमति पाएका छन् । भू–सेवा केन्द्र सञ्चालनको अनुमति पाएका सहकारीहरुमा मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोट, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैनापोखरी र एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी रहेका छन् ।
सबै जग्गाको विवरण अनलाईनमा प्रविष्ट नभईसकेको र रोक्काको विवरण भू–सेवा केन्द्रले सेवा दिने क्रममा थाहा नहुने भएकोले यो प्रणाली कार्यान्वयनमा शुरुवातमा केहि झन्झटिलो देखिए पनि दिर्घकालिन रुपमा यसले नागरिकलाई ठूलो राहत दिने प्रशासन प्रमुख दुलालको भनाई रहेको छ ।