दोलखा । दोलखा जिल्लामै पहिलो तारे होटलको रुपमा चरिकोटमा ‘होटल एम्ब्रोसिया’ शनिबारदेखि सञ्चालनमा आएको छ ।
जिल्लामा सफल व्यवसायीको परिचय बनाई सक्नुभएका दिनेश बस्नेतले करिब १३ करोड रुपैँयाको लगानीमा होटल सञ्चालनमा ल्याउनुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले चरिकोट सातदोबाटोस्थित अदिति कम्प्लेक्समा दुई तारे होटल ‘होटल एम्ब्रोसिया’ को शनिबार विहान उद्घाटन गर्नुभएको हो ।
रिबन काटेर होटल एम्ब्रोसियाको उद्घाटन गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल
नेपाल पर्यटन बोर्डले तोकेका मापदण्ड पुरा गरेर आफूले दुई तारे होटल सञ्चालनमा ल्याएको होटल सञ्चालक बस्नेतले बताउनुभयो । धार्मिक तथा प्राकृतिक पर्यटनको आर्कषक गन्तव्य दोलखामा आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधाका लागि होटल सञ्चालन गरेकोले दोलखाको पर्यटन विकासमा थप टेवा पुग्ने सञ्चालक बस्नेतको विश्वास छ ।
दोलखामा पर्यटन क्षेत्रको विकास गर्न सके दोलखाको विकासमा सहयोग पुग्ने दिर्घकालिन सोचका साथ आफूले जोखिम मोलेरै भएपनि यति ठूलो लगानी गरेर होट सञ्चालनमा ल्याएको बस्नेतको भनाई छ ।
होटलमा एक सय जनासम्म बस्न सक्ने स्वीट र डिलक्स गरी ३५ वटा कोठा, विभिन्न कार्यक्रमको लागि ५ सय जनासम्म अट्ने हल, तीन सय जनासम्म अट्ने रुफटप गार्डेन रहेको छ । एकै पटकमा ८० जनासम्म अट्ने रेष्टुरेण्ट र छुट्टै स्मोकिङ जोनको समेत व्यवस्था रहेको छ । प्रचारप्रसारको लागि माउण्ट एभरेष्ट, गौरीशंकर, च्छोरोल्पा, कञ्चनजंगा, माछापुच्छ्रे लगायत पर्यटकियस्थलको नामबाट कोठाको नामाकरण गरिएको छ ।
होटल उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई होटलको बारेमा जानकारी दिनुहुँदै सञ्चालक दिनेश बस्नेत
त्यसैगरी ७५ वटासम्म मोटरसाईकल र ३० वटा गाडि पार्किङ गर्न मिल्ने गरी अण्डरग्राउण्ड पार्किङ र ८ जनासम्म रुफटपसम्म आवातजावत गर्न मिल्ने लिफ्टको व्यवस्था रहेको सञ्चालक बस्नेतले जानकारी दिनुभयो ।
होटल सञ्चालनमा आएसँगै दोलखामा प्रत्यक्ष अप्रत्यक्ष रोजगारीको सीर्जना, स्थानीय उत्पादन उचित खपत र पर्यटन सम्बन्धि प्रचार प्रसारमा सहयोग पुग्ने सरोकारवालाको अपेक्षा रहेको छ । होटल सञ्चालक बस्नेत दोलखा उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।
होटल उद्घाटन समारोहमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसी, दोलखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुन्दर कार्की लगायतले शुभकामना मन्तव्य गर्दै जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।