दोलखा । शुक्रबार दोलखामा १५ दिन यताकै सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
श्रावण १ गतेदेखि १५ गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी शुक्रबार ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । चरिकोट अस्पतालमा ७२ जनाको पिसिआर परिक्षण गरिएकोमा ४१ जना र विभिन्न पालिकामा १५ जनाको एन्टीजिन परिक्षण गरिएकोमा १० जना गरी जम्मा ५१ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमितमध्य सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका १६ पुरुष र १४ महिला गरी तीस जना रहेका छन् । त्यसैगरी कालिञ्चोक गाउँपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जना, जिरी नगरपालिकाका २ पुरुष र २ महिला गरी ४ जना रहेका छन् । शैलुङ गाउँपालिकाका ४ महिला र २ पुरुष गरी ६ जना, बैतेश्वर गाउँपालिकाका १ पुरुष र १ महिला गरी २ जना तथा विगु गाउँपालिकाका १ पुरुष र मेलुङ गाउँपालिकाकी १ महिलामा पनि संक्रमण पुष्टी भएको छ ।
यसअघि श्रावण १० गते ५० जना र ११ गते ३४ जनामा संक्रमण पुष्टी भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार श्रावणको आधा महिनाको अवधिमा ८ गते १ जनामा मात्र संक्रमण भेटिएको थियो ।
दोलखामा जम्मा २ हजार ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा शुक्रबारसम्म ३ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा १ सय ९७ जना, कालिञ्चोक गाउँपालिकामा ५२ जना तथा विगु गाउँपालिकामा ३१ जना रहेका छन् ।
त्यसैगरी जिरी नगरपालिकामा १८ जना, शैलुङ र बैतेश्वरमा १०/१० जना, तामाकोशी गाउँपालिकामा ८ जना, मेलुङ गाउँपालिकामा ७ जना तथा गौरीशंकर गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् ।