काठमाण्डौं । चरिकोट अस्पताल दोलखाका प्रमुख डाक्टर विनोद दंगाल एसिया अवार्डस नामक संस्थाले प्रदान गर्ने एसियाकै स्वास्थ्य तथा सामाजिक सेवा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।
लामो समयसम्म एकै ठाउँका धेरै जनतालाई निःशुल्क रुपमा बहुविशेषज्ञता सहितको स्वास्थ्य सेवा दिएको, कोभिड संक्रमित भएकै बेला समेत कोभिड संक्रमितको उपचारमा खटिएको र रचनात्मक तरिकाबाट कामको अभिलेखन गरेको लगायतका आधारमा आफूले उक्त अवार्ड प्राप्त गर्न सफल भएको डाक्टर दंगालको भनाई छ ।
झण्डै एघार बर्षदेखि दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरीरहनुभएका डाक्टर दंगालले ५० हजार बढी जनतालाई विशेषज्ञतासहितको स्वास्थ्य सेवा दिईसक्नु भएको छ । उहाँका अनुसार हाडजोर्नी, स्त्रीरोग, बाल तथा सामान्य शल्यक्रिया लगायत एक हजार बढी शल्यक्रिया र एक हजार जना भन्दा बढीलाई मानसिक स्वास्थ्य उपचार र परामर्श गराईसक्नुभएको छ ।
भूकम्पपछि न्याय हेल्थ नेपाल र प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको साँझेदारीमा सञ्चालन भएको चरिकोट अस्पतालमा विद्युतीय प्रणालीबाट बिरामीको सम्पूर्ण अभिलेखीकरण गर्ने कार्यको समेत थालनी भएको छ ।
यसअघि निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले यो अवार्ड पाउँदै आएकोमा आफू सरकारी अस्पतालमा कार्यरत हुँदाहुँदै यो अवार्ड पाउनुले सरकारी अस्पतालले दिने सेवाप्रति नागरिकको भरोसा बढेको प्रमाणित भएको डाक्टर दंगालले बताउनुभयो ।
अवार्ड आगामी अक्टोबर २४ तारिखका दिन भारतको तामिलनाडुमा प्रदान गरिने कार्यक्रम रहेको छ । अवार्ड छनौट प्रक्रियामा विभिन्न २० देशका प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।