दोलखा । जिल्लामा कोरोना संक्रमण उच्च दरमा बढ्न थालेको भन्दै स्थानीय प्रशासनले चरिकोट बजार क्षेत्रमा जारी गरेको निषेधाज्ञा भोलि बिहीबारबाट लागू हुनेगरी खुकुलो बनाएको छ ।
बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस तथा विभिन्न पक्षसँगको परामर्शका आधारमा बुधबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि खुकुलो बनाएको स्थानीय प्रशासनले जनाएको छ । जसमा दोलखा जिल्लाभरीका पसल, दोकान, व्यापार व्यावसाय, होटल रेष्टुरेण्ट लगायत सबै प्रकारका व्यवसाय साँझ ८ बजेसम्म सञ्चालन गर्न पाईने छ । त्यसैगरी सबै सरकारी तथा सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर न्यूनतम आवश्यक कर्मचारीबाट सेवा प्रवाह गर्न पाउने भएका छन् ।
सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयले भने पालिकागत रुपमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्न भनिएको छ । यसअघि निषेधाज्ञा लागू भएको श्रावण २७ गतेदेखि नै सदरमुकाममा धेरै सेवाग्राहीको भिडभाड हुने जिल्ला प्रशासन, मालपोत, नापी लगायतका कार्यालयले पालिकागत रुपमा आलोपालो प्रणालीबाट सेवा दिईरहेका छन् । अर्को आदेश जारी नभएसम्मका लागि थपिएको निषेधाज्ञाको अवधिमा सभा, सम्मेलन, तालिम, सेमिनार, विद्यालय तथा क्याम्पस लगायत भिडभाड हुने कार्यक्रम गर्न नपाईने भएको छ ।
त्यसैगरी सार्वजनिक सवारी साधनले सिट क्षमता अनुसार यात्रु राख्नुको साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न स्थानीय प्रशासनले जारी गरेको आदेशमा भनेको छ ।
यसअघि चरिकोटमा कोरोना संक्रमण बढेको भन्दै श्रावण २७ गतेदेखि थपसहित भाद्र ९ गतेसम्म बैंक तथा वित्तिय संस्थासहित बजार पसल पूर्ण रुपमा बन्द गरिएको थियो ।