दोलखा । नेपाली काङ्ग्रेस तामाकोशी गाउँपालिकाको सभापति पदका लागि दुईजनाबिच प्रतिस्पर्धा हुने भएको छ ।
यहि भाद्र २७ गते हुने पालिका अधिवेशनमा पालिकाको वडा नम्बर ४ मालूका गोपाल तिमल्सिना र वडा नम्बर ६ का कृष्णप्रसाद फूयाँलबिच प्रतिस्पर्धा हुन लागेको हो । प्रतिस्पर्धी दुवैजनाले आफूलाई सभापति पदको उम्मेद्वार घोषणा गरेर प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ साविक मालू गाविसका स्थायी बासिन्दा गोपाल तिमल्सिनाको पारिवारिक वातावरण नै राजनितिक थियो । उहाँ जन्मजात नै अर्थात जन्मिनुअघि नै उहाँको परिवार नेपाली काङ्ग्रेससँग आस्थावान रहेको तिमल्सिनाको भनाई छ । बहुदल पुर्नस्थापना भएपछि २०४९ सालमा भएको निर्वाचनमा तत्कालिन मालू गाविसको अध्यक्ष पदमा निर्वाचित खगेश्वर तिमल्सिनाका छोरा हुनुहुन्छ, गोपाल तिमल्सिना ।
२०५७/०५८ ताका नेपाल विद्यार्थी संघ, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको ईकाइ सभापति, तरुण दल नेपाल, दोलखाको जिल्ला समिति सदस्य हुँदै यसअघि नेपाली काङ्ग्रेस तामाकोशी गाउँपालिका वडा नम्बर–४ मालूको ईकाई सभापतिको भूमिकामा तिमल्सिना रहनुभएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा वडाअध्यक्षमा नेकपा एमालेका उम्मेद्वारसँग पराजित हुनु भएका तिमल्सिना नेपाली काङ्ग्रेस तामाकोशी गाउँपालिका तदर्थ समितिको उपसभापति हुनुहुन्छ ।
समाजशास्त्र विषयमा स्नातकोत्तर र शिक्षा विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका ३६ बर्षिय तिमल्सिना पेशाले सामान्य ठेक्कापट्टा गर्ने गरेको बताउनुहुन्छ ।
वडा सभापतिको जिम्मेवारीमा रहँदा आफूले आम नागरिकको पक्षमा गरेका विभिन्न सामाजिक गतिविधि, पार्टी संगठन विस्तार र अहिलेको अधिवेशनबाट युवाहरु नेतृत्वमा आउने क्रम जारी रहेकोले पनि आफू गाउँपालिकाको सभापति पदमा निर्वाचित हुने तिमल्सिनाको भनाई छ । आफू पालिकाको पार्टी सभापति भएपछि स्थानीय निर्वाचनमा तामाकोशी गाउँपालिकामा नेपाली काङ्ग्रेसलाई विजयी बनाउने तिमल्सिनाको लक्ष्य रहेको छ ।