दोलखा । १४ औं राष्ट्रिय संरक्षण दिवसको अवसरमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले बिहीबार सिङ्गटी बजारमा गुलेली संकलन कार्यक्रम सञ्चालन गरेको छ ।
चराचुरुङ्गी, वन्यजन्तु तथा तिनका बासस्थान संरक्षणको निमित्त संरक्षण क्षेत्रले गाँउ गाँउ बाट गुलेली संकलन अभियान थालेको संरक्षण क्षेत्रका प्राकृतिक श्रोत संरक्षण सहायक शंकर थामीले जानकारी दिनुभयो । पहिलो पटकलाई गुलेली बुझाएको खण्डमा बुझाउनेलाई गुलेलीको उचित मुल्यको समेत व्यवस्था गरिएको छ । बजारमा सामान्यतया एउटा गुलेलीको मुल्य करिब ५० रुपैँया पर्ने गरेको छ ।
संरक्षण क्षेत्रको टोलीले सिङ्गटी बजारमा ३४ वटा गुलेली र ३७७ वटा गुलेली बनाउन प्रयोग गरिने रबर संकलन गरेको जनाएको छ । अभियानमा इलाका प्रहरी कार्यालय सिङ्गटी, संरक्षण वन उपभोक्ता संजाल, आमा समुह, संरक्षण वन व्यवस्थापन उपसमिति र गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
दिवसको अवसर पारेर बिहीबारबाट शुरु भएको गुलेली संकलन अभियान १५ दिनसम्म चल्ने आयोजनाले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले गुलेलीलाई हतियारको रुपमा परिभाषित गरेकोले गुलेलीको प्रयोग गरी वन्यजन्तुको शिकार गरेमा कानुनी कारबाही गरिने प्रावधान रहेको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना दोलखाको विगु, गौरीशंकर, कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिका तथा सिन्धुपाल्चोक र रामेछाप जिल्लामा समेत फैलिएको छ ।