दोलखा । नेकपा एमाले तामाकोशी गाउँपालिका संगठन कमिटीले आईतबार पूर्णता पाएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मालूमा सम्पन्न पालिकास्तरीय अगुवा कार्यकर्ता भेलाले नारायणध्वज खड्काको अध्यक्षतामा १ सय ३७ सदस्यीय कमिटी गठन गरेर कमिटीलाई पूर्णता दिएको हो । कमिटीको उपाध्यक्षमा क्रमशः सुन्दर कार्की, इश्वरराज कार्की र रेजिना सुनुवार तथा सचिवमा होमबहादुर श्रेष्ठ रहनुभएको छ । त्यसैगरी उपसचिवमा सञ्जय सुनुवार, चक्र घिमिरे, विन्दा काफ्ले र दिपक कालिकोटेले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
सचिवालयको समेत जिम्मेवारी पूरा गर्ने गरी ३ जना उपाध्यक्ष र ४ जना उपसचिव गरी ९ जना पदाधिकारी रहेको कमिटी गठन गरिएको अध्यक्ष नारायणध्वज खड्काले जानकारी दिनुभयो । संगठन उपाध्यक्षको जिम्मेवारी पाउनुभएका सुन्दर कार्की वडा नम्बर २ झुलेका स्थायी बासिन्दा हुनुहुन्छ । चरिकोटमा हार्डवयर लगायतको व्यवसाय गरेर सफल व्यवसायीको पहिचान बनाउनुभएका कार्की नेकपा एमाले जिल्ला कमिटी अन्तर्गत सल्लाहकार समिति सदस्य हुनुहुन्थ्यो । त्यसैगरी अर्का उपाध्यक्ष इश्वरराज कार्की पनि नेकपा एमाले जिल्ला कमिटी अन्तर्गत सल्लाहकार समिति सदस्य हुनुहुन्थ्यो ।
त्यस्तै अर्की उपाध्यक्ष रेजिना सुनुवार, उपसचिव सञ्जय सुनुवार, विन्दा काफ्ले र दिपक कालिकोटे यसअघिको पालिका कमिटीका सदस्य हुनुहुन्थ्यो भने उपसचिव चक्र घिमिरे नेकपा एमाले वडा नम्बर ६ च्यामाको वडा कमिटीका अध्यक्षसमेत हुनुहुन्छ ।
यसअघि नेकपा एमाले दोलखाको विस्तारित बैठकले गत बैशाख १४ गते जिल्लाका सबै पालिकामा संगठन इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो । जस अनुसार नेकपा एमाले तामाकोशी गाउँपालिका संगठन कमिटीको इन्चार्ज जिवसराज खड्का, अध्यक्ष नारायणध्वज खड्का र सचिवमा होमबहादुर श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।