दोलखा । यहि असोज १५ गते हुन लागेको नेपाली काङ्ग्रेस दोलखाको १४ औं जिल्ला अधिवेशनका लागि वर्तमान सभापति रुद्रबहादुर खड्काको प्यानलले सोमबार उम्मेद्वारी घोषणा गरेको छ ।
चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान सभापति खड्काले दोश्रो कार्यकालका लागि सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । खड्काको प्यानलबाट उपसभापतिमा छवि लामा र अर्जुन शिवाकोटी, सचिवमा बालकृष्ण आचार्य र महेश्वर काफ्ले तथा सह–सचिवमा हरिशरण शिवाकोटी र पासाङ शेर्पा शेर्पाले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै सभापति खड्काले आफ्नो ५ बर्ष ८ महिनाको कार्यकालमा पार्टी संगठनलाई व्यवस्थित बनाएर हजारौं क्रियाशील सदस्य थपेको, पार्टी कार्यालयको लागि जग्गा खरिद गरेको र विभिन्न पेशामा सफल व्यक्तिलाई पार्टीमा प्रवेश गराएकोले आफूले निर्वाचन जितेर बाँकी रहेका कामलाई पूर्णता दिने बताउनुभयो ।
आफ्नो प्यानलमा जनताद्वारा परिक्षित जनप्रतिनिधिको बाहुल्यता रहनुको साथै सबै भेग भूगोल र जातिबाट समेत प्रतिनिधित्व हुनेगरी समावेशीता रहेकोले मोलमोलाईमा नलागि सबैले मतदान गरेर विजयी गराउन सभापति खड्काले आम नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेस दोलखालाई गुट र फुटको राजनितिबाट जोगाएर अघि बढ्ने उद्धेश्यले आफ्नो टिम निमार्ण भएकोले नै सफल व्यवसायी प्रभूराम श्रेष्ठ, पत्रकार अजयबाबु शिवाकोटी लगायतका जुझारु युवा साथीहरुसमेत आफ्नो टिममा रहेको खड्काको दाबी छ । खड्का वर्तमान पार्टी सभापति मात्र नभई तत्कालिन जिल्ला विकास समितिका पूर्व सभापति समेत हुनुहुन्छ ।
उपसभापतिका उम्मेद्वार छवि लामा नेपाली काङ्ग्रेस दोलखाको प्रदेश क्षेत्र नम्बर ‘क’ का वर्तमान सभापति हुनुहुन्छ । सामाजिक सञ्जालमा जिल्ला कार्यसमिति सभापति पदका उम्मेद्वारको रुपमा प्रचार गरिएका लामाले पत्रकार सम्मेलनमा आफैँ उपस्थित भएर खड्काको प्यानलबाट उपसभापति पदमा उम्मेद्वारी दिनुभएको हो । लामा बैतेश्वर गाउँपालिकाको अध्यक्ष समेत रहनुभएको छ ।
उपसभापतिका अर्का उम्मेद्वार अर्जुन शिवाकोटी नेपाली काङ्ग्रेस कालिञ्चोक गाउँपालिकाको निवर्तमान सभापति हुनुहुन्छ । सचिवका उम्मेद्वार यातायात व्यवसायी सूर्यबहादुर आचार्य वर्तमान जिल्ला कार्यसमितिका सचिव हुनुहुन्छ । त्यसैगरी सचिवका अर्का उम्मेद्वार महेश्वर काफ्ले वर्तमान जिल्ला कार्यसमितिका सदस्य तथा तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष समेत हुनुहुन्छ ।
त्यस्तै सहसचिवका उम्मेद्वार हरिशरण शिवाकोटी वर्तमान जिल्ला कार्यसमितिका सह–सचिव तथा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत हुनुहुन्छ । सह–सचिवका अर्का उम्मेद्वार पासाङ शेर्पा वर्तमान जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ ।