दोलखा । नेपाली काङ्ग्रेस दोलखाको जारी १४ औं जिल्ला अधिवेशनले सभापतिमा वर्मा लामालाई निर्वाचित गरेको छ ।
सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धि तारा कुमार खड्कालाई ३ सय ९२ मत अन्तरले पराजित गर्दै लामा ८ सय ७७ मतसहित नेपाली काङ्ग्रेस दोलखाको सभापतिमा विजयी हुनुभएको मतदान अधिकृत शम्भू गौतमले जानकारी दिनुभयो । नेतृत्व चयनका लागि शनिबार र आईतबार दुईदिन मतदान भएकोमा सभापतिका कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टीमा विधान बमोजिम सोमबार दोश्रो पटक निर्वाचन भएको हो । निर्वाचन १ हजार ३ सय ७२ मत खसेकोमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणको निर्वाचनमा लामाले पहिलो मत अर्थात सबैभन्दा बढी ६ सय ४३ मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेद्वार ताराकुमार खड्काले ३ सय ९७ मत अर्थात दोश्रो मत प्राप्त गर्नुभएको थियो । विधान बमोजिम सोमबार पहिलो मत ल्याउने लामा र दोश्रो मत ल्याउने खड्काबिच प्रतिस्पर्धा भएको थियो ।
को हुन लामा ?
महासमिति सदस्य समेत रहनुभएका लामा २०२० साल फागुनमा दोलखाको डाँडाखर्क गाविसमा मध्यम बर्गीय परिवारमा जन्मनुभएको हो । तत्कालिन स्थानीय पञ्चायतको प्रधान पञ्च बलबहादुर तामाङका छोरा लामा मेलुङ्गमा रहेको त्रिभुवन माविमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघको इकाई सभापति बनेर विद्यार्थी जीवनकालदेखि नै राजनितिमा प्रवेश गर्नभएको हो ।
विद्यार्थी राजनितिमा संलग्न रहेकै बखत उहाँले २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याग्रहमा भाग लिनु भएको थियो । २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघ, दोलखाको सभापतिको हैसियतमा सक्रिय सहभागिता जनाउनुभएका लामा २०४९ सालमा नेपाली काङ्ग्रेस दोलखाको जिल्ला समिति सदस्य तथा कार्य सम्पादन समितिको समेत सदस्य बनेर काम गर्नुभएको थियो । विद्यार्थी जीवनबाट राजनितिमा लाग्नुभएका नेता लामा आफ्नो लामो जीवनकाल नै पुर्णकालिन राजनितिमा सर्मपण गर्दै नेपाली काङ्ग्रसको महाधिवेशन प्रतिनिधि हुँदै हाल महासमिति सदस्यको भुमिकामा हुनुहुन्छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस माओवादी गठबन्धनबाट मेलुङ्ग गाउँपालिका अध्यक्षको उम्मेद्वार बन्नुभएका लामा एमाले उम्मेद्वार नरबहादुर श्रेष्ठसँग एक सय भन्दा कम मतले पराजित हुनुभएको थियो । त्यस्तै २०७४ मंसिरमा भएको प्रदेशसभाको निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेद्वार बन्नुभएका लामा तत्कालिन बाम गठबन्धनका उम्मेद्वार विशाल खड्कासँग पराजित हुनुभएको थियो ।