काठमाण्डौं । नेपालको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले अमेरिकामा स्थापित ‘सुजन–परिता एजुकेशन फाउण्डेशन’ले जोखिममा परेका विद्यार्थीलाई ल्यापटप र छात्रवृत्ति प्रदान गरेको छ ।
सिन्धुपाल्चोकको लिसंखुपार गाउँपालिका–७, ठूलोपाखरस्थित संसारीमाई माध्यामिक विद्यालयका दुई जना विद्यार्थीलाई ल्यापटप कम्प्युटर र छ जना विद्यार्थीलाई जनही २५ हजार रुपैँयाका दरले छात्रवृत्ति प्रदान गरिएको फाउण्डेशनका नेपालस्थिति कन्ट्री डाईरेक्टर राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।
त्यसैगरी चितवनस्थित माडी माध्यामिक विद्यालयलमा फाउण्डेशनले उपलब्ध गराएको दुई लाख ५० हजार रुपैँया २० जना विद्यार्थीलाई वितरण गरिएको र बाँकी रहेको केही रकम वितरण गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र पौडेलको भनाई छ ।
चितवनमा जन्मिएर माध्यमिक तहको शिक्षा दोलखामा हाँसिल गरेका सुजन न्यौपानले नेपालको शैक्षिक क्षेत्रमा सहायता गर्ने उद्देश्यले फाउण्डेशनको स्थापना गरिएको बताउनुभयो । फाउण्डेशनका कन्ट्री डाइरेक्टर मानन्धरका अनुसार कोभिड—१९ का कारण रोकिएको सहायता कार्यक्रम फेरि सुरु भएको हो । उहाँका अनुसार हाल दोलखाको कालिञ्चोक मावि, सिन्धुपाल्चोकको सन्सारी माई मावि र चितवनको माडी मावि विद्यार्थीहरुका लागि सहायता उपलब्ध गराइदै आएको छ ।
यसअघि भक्तपुरस्थित सविता उप्रेतीले सञ्चालन गर्नु भएको अटिजम भएका वालवालिकाको स्कुलमा कम्प्युटर ल्याप स्थापना गर्न पनि कोषले सहायता उपलब्ध गराएको छ । कोभिड—१९ महामारीका कारण केही विद्यालयमा वितरण गरिने छात्रवित्ति कार्यक्रम अझै सुरु हुन सकेको छैन । संस्थाले ग्रामीण क्षेत्रका सिमान्तकृत तथा जोखिममा परेका गरीब, जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम तथा शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।
सुजन न्यौपाने र उहाँका धर्मपत्नी परिताले स्थापना गरेको कोष एक करोडबाट सुरु भएको थियो । हाल उहाँका परिवार र नेपालको शैक्षिक कार्यक्रममा हातेमालो गर्नेहरुको सहभागिता वढिरहेको छ । संस्थापक न्यौपानेले विशुद्ध सामाजिक सेवा भावले स्थापना भएको कोषले नेपालमा गरिवीका चपेटा परेका वालवालिका लक्षित हुने बताउनु भयो ।
विद्यालयबाट प्रस्ताव आएपछि कोषको नियम पूरा भएमा विद्यालयका विद्यार्थीहरुका लागि सहायता गर्न सकिने उहाँले जानकारी दिनु भयो । यो कोष विद्यालयका लागि नभै सिधै विद्यार्थीका हातमा जाने कार्यक्रम भएको पनि संरक्षक न्यौपानेको भनाई छ ।